झापा, फागुन २१ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले शहीदको सपनाबमोजिम जनताको जीवनमा गर्नुपर्ने परिवर्तन बाँकी रहेको बताएका छन् ।

हिन फाउन्डेशनले प्रकाशन गरेको झापा परिचय स्मारिकाको आज बिहान बिर्तामोडमा विमोचन गर्दै सभामुख घिमिरेले शहीदहरुले दिएको बलिदानीबाट राजनीतिक उपलव्धि हासिल भएपनि जनताको जीवनस्तरलाई माथि उकास्न नसकिएको स्वीकार गरे । ‘ शहीदहरुका अनगिन्ती सपना छन् ‘ उनले भने,‘ नेपालमा प्रजातान्त्रिक वातावरण त बन्यो तर,जनतालाई सुखी बनाउन अझै बाँकी छ ।’ उनले करिव ५० वर्षअघि आजकै दिन फागुन २१ ग्ते इलामको सुखानीमा मारिएका पाँच शहीदलाई संझना गर्दै निरंकुशता अन्त्य गरी प्रजातन्त्र ल्याउन बलिदानी दिने शहीदहरुलाई कहिल्यै बिर्सन नहुने धारणा राखे ।

हिन फाउन्डेशनका अध्यक्ष पुष्प पाठकको अध्यक्षतामा भएको कार्यक्रममा प्रतिनिधिसभा सदस्य अमृतलाल राजवंशी , बिर्तामोड नगरपालिकाका पूर्व मेयर ध्रुवकुमार शिवाकोटीलगायतको आतिथ्य रहेको थियो । १३७ पृष्ठको स्मारिकामा जिल्लाका १५ वटै पालिकाको परिचयसहित जानकारी समेटिएको छ । जसको सम्पादन मण्डलमा देवराज कार्की र रामचन्द्र मैनाली रहेका छन् भने सहयोगीमा मधुर सिटौला , लक्ष्मण पाठक ,भक्तिप्रसाद घिमिरे, डम्बर बस्नेत ,विनिता बिमली ,कविता ओली , इन्द्रसिंह राजवंशी र यज्ञ धमला रहेका छन् । कम्प्युटर डिजाइन लक्ष्य राजवंशीले गरेका छन् । संचारकर्मी सरोज पौडेलले संचालन गरेको कार्यक्रममा स्वागत कविता ओलीले गरेकी थिइन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्