झापा, फागुन २३ ।अब हल्दिवारीका अभिभावकहरुले विद्यालयमा आफ्ना छोराछोरीले पढे–नपढेको, शिक्षकले पढाए– नपढाएको घरैबाट निगरानी गर्न सक्ने भएका छन् ।

हल्दिवारी गाउँपालिका कार्यालयले सबै सामुदायिक विद्यालयहरुमा सिसि क्यामेरा जडान गरी अभिभावकहरुले विद्यालयका गतिविधि घरैबाट हेर्नसक्ने मोबाइल एपको व्यवस्था मिलाएको हो । जुन मोबाइल एपको हिजो झापा क्षेत्र नं ३ का प्रतिनिधिसभा सदस्य एवं निवर्तमान उपप्रधान , ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री राजेन्द्र लिङ्देनले लन्च गरेका छन् । सो एप आफ्नो मोबाइलमा डाउनलोड गरेपछि अभिभावकहरुले घरैबाट आफ्ना छोराछोरीहरुको अनुगमन गर्न सक्ने छन् ।

यस्तो खालको प्रविधि नेपालभरिमै पहिलो पटक आफूहरुले प्रयोगमा ल्याएको हल्दिवारी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत इन्द्रप्रसाद चापागाँईले दावी गरे । उनले सो एपबाट विभिन्न किसिमका फाइदा मिल्ने जानकारी दिए । मोबाइल एपको औचित्यमाथि प्रकाश पार्दै गाउँपालिका अध्यक्ष रविन्द्रप्रसाद लिङ्देनले आफ्नो पालिकाले शिक्षा क्षेत्रलाई व्यवस्थित र अनुशासित बनाउन खोजेको बताए । उनले सिसि क्यामेरामार्फत मोबाइल एप लन्च गर्दा हल्दिवारीका ५ हजार ५८१ जना अभिभावकहरुले घरैबाट आफ्ना छोराछोरीको अनुगमन गर्न सक्ने जानकारी दिए । उनले विद्यालयको सुरक्षामा बृद्धि हुने , गाउँपालिकाबाट निरन्तर रुपमा विद्यालय अनुगमनमा सहजता मिल्ने , आफ्ना छोराछोरी अध्ययन गर्ने विद्यालयको बारेमा घरमा बसीबसी अभिभावकले प्रत्यक्ष हेर्न सक्ने , विद्यालयको भौतिक पूर्वाधारको बारेमा जानकारी हुने , विद्यार्थीहरुले कति बजे विद्यालय प्रांगणमा प्रवेश गरे र कति बजे बाहिर निस्के सोको जानकारी घरैबाट थाहा पाइने , विद्यालयका शिक्षक र प्रधानाध्यापकको मात्र हैन , अभिभावकहरुको पनि अपनत्वको भावना पैदा हुने ,विद्यालयमा कुनै कमिकमजोरी देखिए तुरुन्त फोन गरेर सोको जानकारी प्रअलाई गराउन सकिने , विद्यालय प्रशासनको सुदृढीकरणमा सहयोग पुग्ने र विद्यालयमा अभिभावक र स्थानीय तहबीच सहकार्य हुने विश्वास व्यक्त गरे ।

हल्दिवारी गाउँपालिकाले चार वर्ष अगाडि नै सबै विद्यालयमा सिसि क्यामेरा जडान गरेको थियो । ती सिसि क्यामेरालाई मर्मत गरी सम्पूर्ण क्यामेराहरु अनलाइनमा ल्याएको आइटी अफिसर सुशिल कडरियाले बताए । उनले विद्यालयमा मोबाइल एप जडान गर्ने प्रविधिका लागि कूल २४ लाख ८८ हजार रुपैयाँ खर्च भएको जानकारी दिए ।हल्दिवारीमा ६ माविसहित १७ वटा सामुदायिक विद्यालय छन् । इन्टरनेट र स्मार्ट फोन भएका अभिभावकले मात्र सो एप चलाउन सक्छन्। हल्दिवारीका ४० प्रतिशत अभिभावकसंग मात्र स्मार्ट फोन भएको अनुमान गरिएको छ । गाउँपालिकाका बासिन्दा अधिकांश कृषक र मजदुर छन् । ‘ हल्दिवारी गाउँपालिकामा ४९ प्रतिशत कृषक भएपनि करिव ६५ प्रतिशतले फेसबुक चलाउँछन् ’ आइटी अफिसर कडरियाले भने,‘ गाउँपालिकाभरि इन्टरनेटको फाइभर पुगिसकेको छ ।’ उनले सो एप डाउनलोडका लागि आवेदन दिने अभिभावककहाँ पुगेर आफूहरुले चलाउन सिकाउने बताए । त्यसका लागि गाउँपालिकाका तीनजना आइटी कर्मचारी , विद्यालयका फोकल पर्सन र वडा कार्यालयहरुका कम्प्युटर कर्मचारीहरुलाई जिम्मेवारी दिइएको उनले जानकारी दिए । विद्यार्थीहरुको मनोविज्ञानलाई ध्यान दिँदै कक्षा कोठमा भने सिसि क्यामेरा जडान नगरिएको उनको भनाइ छ ।

सो मोवाइल एपबाट शिक्षकहरु सजग र अभिभावकहरु सचेत बन्न सक्ने पञ्चायत माविका प्रअ कृष्णप्रसाद वनले बताए । उनले आफ्ना विद्यालयका २५ प्रतिशत अभिभावकसंग मात्र स्मार्ट फोन भएकाले यो प्रविधिमा सबैको पहुँच पुग्न नसक्ने प्रतिक्रिया दिए । त्यस्तै गरमकाली आधारभूत विद्यालयका प्रअ रामप्रसाद पराजुलीले विद्यालयको सुरक्षामा सहयोग पुग्ने भन्दै विद्यालयमा अनाधिकृत रुपमा प्रवेश गर्ने व्यक्तिहरु निरुत्साहित हुने बताए । गाउँपालिकाका अध्यक्ष रविन्द्रप्रसाद लिङ्देनको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि सांसद राजेन्द्र लिङ्देनले विद्यालयले दिने किताबी ज्ञानले मात्र नहुने भन्दै विद्यार्थीहरुलाई सिर्जनशील बनाउन सक्नुपर्नेमा जोड दिए । कार्यक्रममा प्रदेश सांसद छविलाल चुडाल , निमसरी राजवंशी , प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेल , शिक्षा समन्वय इकाई प्रमुख राजकुमार विकलगायतले शुभकामना मन्तव्य राखेका थिए । प्रवक्ता एवं वडा नं १ का वडाध्यक्ष देवीबहादुर थापाले स्वागत गरेको कार्यक्रमको संचालन सूचना अधिकारी राजन न्यौपानेले गरेका थिए । त्यस अवसरमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम , द्वितीय र तृतीय हुने हल्दिवारीका विद्यार्थीहरुलाई नगदसहित पुरस्कृत गरिएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्