झापा, फागुन २५ । मुलुकको तेस्रो राष्ट्रपतिका लागि आज संसद् भवन बानेश्वरमा हुने निर्वाचनमा दुई पूर्वसभामुख रामचन्द्र पौडेल (कांग्रेस) र सुवासचन्द्र नेम्वाङ (एमाले) बीच प्रतिस्पर्धा हुँदैछ ।

कांग्रेसका पौडेललाई ९ दलको साथ छ भने एमालेका नेम्वाङलाई आफ्नो पार्टीको मात्रै भर छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीको ५ वर्षे कार्यकाल आइतबार सकिँदै छ । निर्वाचन आयोगले उनको कार्यकाल सकिनुअघि नै नयाँ राष्ट्रपति चुन्न लागेको हो । बिहान १० बजे सुरु भई मतदान अपराह्न ३ बजेसम्म हुनेछ । मतदान सकिएको बढीमा ४ घण्टाभित्र परिणाम आइसक्ने निर्वाचन अधिकृत महेश शर्मा पौडेलले बताए । ‘३ बजे मतदान सकिएपछि ४ बजेबाटै गणना सुरु गर्छौं,’ उनले भने, ‘ढिलोमा ७ बजेसम्म परिणाम आइसक्छ ।’

निर्वाचनमा प्रतिनिधिसभाका २ सय ७२ (फरार १ सहित), राष्ट्रिय सभाका ५९ र सातै प्रदेशसभाका ५ सय ५० गरी ८ सय ८१ मतदाताले भाग लिनेछन् । संघीय संसद्का सदस्य र प्रदेशसभाका सदस्यको मतभार फरक छ । संघीय संसद् सदस्यको मतभार ७९ छ भने प्रदेशसभा सदस्यको ४८ छ । दुवै सभाको तत्काल कायम रहेका मतदाताको कुल मतभार भने ५२ हजार ६ सय २८ रहेको छ । केही दिनअघि मृत्यु भएका जसपाका प्रतिनिधिसभा सांसद सहनाज रहमानको मतभार पनि यसमा जोडिएको छ । आयोगले सार्वजनिक गरेको अन्तिम मतदाता नामावलीमा उनको नाम पनि समावेश छ ।

निर्वाचन अधिकृत पौडेलले रहमानको मृत्यु भएको जानकारी आइनसकेकाले उनको मतभार कायम राखिएको बताए । निर्वाचन आयोगका कानुन महाशाखा प्रमुख यज्ञप्रसाद भट्टराईले मतदान अधिकृतले के गर्ने भनेर निर्देशन मागेमा आयोगले निकास दिने बताए । ‘रहमानको मृत्यु भएको जानकारी आयोगमा आइसकेको छ, मतदान अधिकृतले कुन मतभार कायम गर्ने भन्ने विषयमा निर्देशन मागेमा आयोगले निकास दिन सक्नेछ,’ उनले भने ।

निर्वाचनमा १४ वटा दलले सहभागिता जनाउँदै छन् । राप्रपाले राष्ट्रपति निर्वाचनमा भाग नलिने घोषणा गरेको छ । राप्रपाका प्रतिनिधिसभामा १४ र प्रदेशसभामा २८ सांसद छन् । उनीहरूको मतभार २ हजार ४ सय ५० छ । तत्काल कायम रहेको कुल मतको बहुमत प्राप्त गर्ने व्यक्ति राष्ट्रपति निर्वाचित हुनेछ । कुनै उम्मेदवारले बहुमत प्राप्त गर्न नसकेमा दोस्रो चरणमा बढी मत प्राप्त गर्ने दुई उम्मेदवारबीच मतदान हुनेछ । त्यस्तो मतदानमा कुल मतको ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्ने उम्मेदवार राष्ट्रपति निर्वाचित हुनेछ । यो मतदानबाट पनि कुनै उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्न नसकेमा पुनः मतदान हुनेछ । त्यस्तो मतदानमा खसेको कुल सदर मतको बढी मत प्राप्त गर्ने उम्मेदवार राष्ट्रपति निर्वाचित हुनेछ ।

सत्ता गठबन्धनका नौ दलले प्रदेशसभा सदस्यलाई बुधबारै काठमाडौं आइसक्न निर्देशन दिइसकेका थिए । दुवै उम्मेदवारले आफ्नो पक्षमा रहेका मतदातालाई प्रशिक्षणसमेत दिएका छन् । आयोगले मत बदर नहोस् भनेर यसपालि उम्मेदवारको चिह्नभन्दा पनि फोटोसहितको मतपत्र छपाइ गरेको छ । निर्वाचनका लागि दुईवटा मतदान केन्द्र कायम गरिएको छ । ५ सय ५० प्रदेशसभा सदस्यका लागि एउटा, प्रतिनिधिसभा र राष्ट्रिय सभा सदस्य ३ सय ३१ जनाका लागि अर्को मतदान केन्द्र निर्धारण गरिएको छ । एउटा केन्द्रमा सात जना कर्मचारी खटिनेछन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्