झापा , चैत्र ५ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चैत ६ गते प्रतिनिधिसभाबाट विश्वासको मत लिने भएका छन् ।

त्यसका लागि पत्र दर्ता गराएको संघीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले बताए । ‘संसद् सचिवालयमा पत्र दर्ता भएको छ । चैत ६ गते विश्वासको मत लिने कार्यसूची हुन्छ’, गिरीले भने । प्रधानमन्त्रीले विश्वासको मत लिने एजेन्डा चैत ६ गतेको कार्यसूचीमा समावेश गरिदिन भन्दै बिहीबार पत्र पठाएको गिरीले बताए । गत पुस १० गते प्रधानमन्त्री बनेका दाहालले पुस २६ मा विश्वासको मत लिएका थिए । तर, राष्ट्रपति निर्वाचनमा कांग्रेसलाई साथ दिने भएपछि एमालेले फागुन १५ गते समर्थन फिर्ता लिँदै सरकार छाडेको थियो। राप्रपा त्यसको दुई दिनअघि सरकारबाट बाहिरिएको थियो । १० दलीय गठबन्धनले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने समझदारी गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बसेको गठबन्धनको बैठकले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने समझदारी गरेको हो । १० दलीय गठबन्धनमा नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी, जनमत पार्टी, राष्ट्रिय जनमोर्चा, नागरिक उन्मुक्ति पार्टी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल समाजवादी पार्टी र आम जनता पार्टी छन्।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्