झापा, चैत ८ । तिब्बती शरणार्थीहरूलाई नेपाली नागरिकता बनाइदिने काममा संलग्न गिरोह पक्राउ परेको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले चैत ५ गते पक्राउ गरेको थियो । उनीहरूलाई कार्यालयले बुधबार सार्वजनिक गरेको हो ।

कार्यालयका प्रवक्ता एसपी सोमेन्द्रसिंह राठौरले काठमाडौंको बबरमहल क्षेत्रमा बसेर सरकारी कार्यालयहरुको कागजात, छाप तथा कर्मचारीको दस्तखतसमेत किर्ते गरी झुट्टा लिखत तथा नक्कली सिफारिस तयार गरी गैरनेपाली व्यक्तिहरूको सक्कलै नेपाली नागरिकता समेत बनाइदिने गरेको अनुसन्धानमा खुल्न आएको बताए ।

पक्राउ पर्नेहरूमा झापा कचनकवल ३ का कृष्णबहादुर कटवाल, भक्तपुरको मध्यपुर थिमिका न्युल्केश श्रेष्ठ, मोरङ सुन्दरहरैचाका हिरालाल शिवाकोटी, तनहुँ शुक्लागण्डकी नगरपालिकास्थित तिब्बती शरणार्थी क्याम्पका लोब्साङ ठिन्ले र ललितपुर गोदावरीका विजय लामा रहेका छन् ।
पक्राउ परेकामध्ये कटवाल १० वर्षदेखि लेखापढी व्यवसायमा संलग्न व्यक्ति रहेको प्रहरीले जनाएको छ । उनको साथबाट विभिन्न व्यक्तिहरूको नक्कली नागरिकता, विभिन्न शैक्षिक संस्थाको शैक्षिक प्रमाणपत्र, सवारी चालक अनुमतिपत्र, जन्मदर्ता, बसाइसराइँ, विवाह दर्ता, सम्बन्धविच्छेद जस्ता वडा कार्यालयको सिफारिसलगायतका महत्वपूर्ण कागजात बरामद भएको प्रवक्ता राठौरले जनाएका छन् । पक्राउ परेका व्यक्तिबाट किर्ते गर्न प्रयोग हुने वडा कार्यालयहरूको छाप तथा दस्तखत, नक्कली कागजात पेस गरी बनाइएको गैरनेपालीले प्राप्त गरेको सक्कलै नागरिकतासमेत फेला परेको छ ।

कटवालले जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट तिब्बती शरणार्थीहरुको सक्कलै नेपाली नागरिकता बनाउने क्रममा विभिन्न व्यक्तिहरूलाई नक्कली बाबुका रूपमा उपस्थित गराई सनाखत गराउने गरेकोसमेत खुलेको छ । पक्राउ परेका नेपाली नागरिक न्युल्केश श्रेष्ठलाई पक्राउ परेका कृष्ण कटवाल समेतले मिङछुङ शेर्पा नामको नक्कली नेपाली नागरिकता बनाई दिई प्रति पटक १० हजार रुपैयाँ दिई भाडामा नक्कली बाबुको रूपमा जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उपस्थित गराई सनाखत गर्ने गराएको समेत खुलेको छ । उनै श्रेष्ठ तिब्बती नागरिक सोनाम छोडेन, टासी शेर्पा, यशोदा शेर्पा, नाम्से शेर्पालगायतको सक्कलै नागरिकता बनाउन नक्कली बाबु बनी सहयोगी बनेका थिए ।

उक्त गिरोहले तिब्बती शरणार्थीको नागरिकता बनाउन प्रतिव्यक्ति ३ देखि ५ लाखसम्म लिने गरेको पनि अनुसन्धानबाट खुलेको छ । पक्राउ परेका लोब्साङ ठिन्ले तिब्बती शरणार्थी क्याम्पमा बस्दै आएका र निजले गत फागुन ३० गते जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट लोब्साङ ठिन्ले गुरुङको नामबाट स्थायी ठेगाना का.म.न.पा. १७ राखी ना.प्र.प.नं. २७–०१–७९–१५९०१ को नेपाली नागरिकता लिएको देखिएको छ । यस्तैगरी नागरिकता लिएका अन्य २५–३० जनाको सक्कलै नागरिकता प्राप्त भई सोउपर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका अर्का व्यक्ति विजय लामा विगत ९ वर्षदेखि जिल्ला प्रशासन कार्यालयको क्यान्टिनमा काम गर्दै आएको र जिल्ला प्रशासन कार्यालय काठमाडौंभित्र मिलाउनु पर्ने सबै कामको जिम्मा लिने गरेको पनि खुल्न आएको छ । लामाले भित्र मिलाउनुपर्छ भनी कटवालसँग प्रतिनागरिकता १ लाख ५० हजारसम्म लिई नागरिकता प्राप्त गर्ने कार्यमा सहजीकरण गर्दै आएको देखिएको छ ।

कटवालले मात्रै ५÷६ वर्षको अवधिमा झन्डै ५०० भन्दा व्यक्तिलाई यस्तै प्रक्रियाबाट नागरिकता दिलाएको र उक्त कार्यमा निज कटवालजस्तै अन्य ४÷५ जना व्यक्ति पनि सक्रिय रहेको आशंकामा अनुसन्धान अघि बढाइएको एसपी राठौरले जानकारी दिए ।

तिब्बती शरणार्थी लगायतलाई सक्कलै नेपाली नागरिकताको प्रमाणपत्र दिलाउने कार्यमा सक्रिय गिरोहलाई प्रलोभनमा पारी नागरिकता उपलब्ध गराएको आशंकामा जिल्ला प्रशासनकार्यालय काठमाडौंमा कार्यरत पूर्व तथा बहालवाला कर्मचारीहरु उपरसमेत आवश्यक अनुसन्धान भइरहेको पनि उनले बताए । कटवाल यसअघि पनि किर्ते र ठगी मुद्दामा पक्राउ परी सजाय पाइसकेका व्यक्ति हुन् ।पक्राउ परेका व्यक्तिलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्