झापा, चैत १३ । कोलकाताको लुका सकर फुटबल क्लब सातौं विराट गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनल पुगेको छ ।

आइतबार संकटा क्लब काठमाडौंलाई सडनडेथमा हराउँदै विभागीय टोली साबिक विजेता एपीएफसँगको सेमिफाइनल भेट पक्का गरेको हो ।

निर्धारित ९० र अतिरिक्त ३० मिनेटको खेल गोलरहित भएपछि खेलको छिनोफानो टाइब्रेकरबाट गर्दा सडनडेथमा पुगेको थियो । कोलकाताका गोलकिपर मोहमद सनफेरले संकटाका अनिष मर्हजनको अन्तिम प्रहार बचाउ गर्दै टिमलाई अन्तिम चारको यात्रा गराए । सनफेर म्यान अफ द म्याच भए । नतिजा ८–७ स्कोर बनेको थियो ।

कोलकाताका कार्लेस कुभारको, मोहम्मद आकाश, मोहम्मद राफी, मोहम्मद फासिल, पाउल ओपेरा, हेन्की अफित, मोहम्मद फाइजान र अवु लालाको पेनाल्टी गोलमा परिणत भयो ।
संकटाका जुनियर, कुलदीप कार्की, सुरजज्यू ठकुरी, चन्दन दास, दीपक घिसिङ, नेल्सन र रोशन पहारीको पेनाल्टी गोलमा परिणत हुँदा अनिषको प्रहार विफल भएको हो । विजेताले २० लाख १५ हजार र उपविजेताले १० लाख १५ हजार पुरस्कार पाउने प्रतियोगिताको पहिलो सेमिफाइनलमा आज आयोजक विराटनगर सिटी र जावलाखेलबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्