झापा , चैत्र १३ । दैनिक कोभिड संक्रमित शून्यमा झरिसकेको नेपालको कोभिड संक्रमण दर पछिल्लो समय फेरि बढ्न थालेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरण अनुसार फागुन २६ गतेसम्म (५ जना संक्रिय संक्रमित) एक अंकमा रहेको कोभिडका सक्रिय संक्रमितको संख्या बढेर आइतबार ४२ जना पुगिसकेको छ । मन्त्रालयका अनुसार चैत ९ गते १७ जनामा संक्रमण देखिएकोमा आइतबार फेरि १६ जनामा देखिएको छ । पछिल्लो एक हप्तामा दैनिक हजार जनासम्मको नमूना परीक्षण भइरहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह-प्रवक्ता डा.समिर अधिकारीका अनुसार पछिल्ला केही दिनयता भारतबाट नेपाल भित्रिनेहरुमा कोभिड संक्रमण पुष्टि हुने दर बढ्दा संक्रमितको संख्या बढ्न थालेको हो । उनले पछिल्लो दिन भारतमा कोभिड संक्रमण बढ्दै गएको र यही समयमा संक्रमण बढिरहेको ठाउँबाट नेपाल भित्रिने मानिसहरुको संख्या बढिरहेको हुँदा सीमा नाकामा परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भइरहेको बताए ।

‘भारतमा संक्रमण पुन बढेको अवस्था छ‚ यस्तो अवस्थामा स्थल सीमा नाकाबाट नेपाल भित्रिनेहरुमा संक्रमण पुष्टि हुने क्रमशः बढ्दै गएको छ। यसले गर्दा पछिल्लो दिनमा स्थिर रहेको संक्रमित संख्या केही बढेको छ‚’ डा अधिकारीले भने। विशेषगरी नेपालगन्ज सुदूरपश्चिमको सीमा नाकाबाट नेपाल भित्रिनेहरुमा संक्रमण धेरै देखिएको समेत उनले बताए । डा. अधिकारीले भने‚ ‘सीमा नाकाबाट नेपाल भित्रिनेहरुमा संक्रमण बढ्न थालेपछि हाल भारतबाट स्थलमार्ग हुँदै नेपाल भित्रिने मानिसहरुलाई सीमा नाकामा परीक्षण अनिवार्य गरिएको छ, भर्खरै भारतबाट फर्किएका र कोभिडको जस्तै लक्षण देखिएमा अनिवार्य कोभिड परीक्षणसमेत गर्नुपर्ने अवस्था छ ।

‘पुनः संक्रमण बढ्दै गएको अवस्थामा अहिले नै के गर्ने भनेर रणनीति नबनाइए पनि संक्रमण बढ्न थालेको क्षेत्रमा परीक्षण तथा कोभिडविरुद्धको अतिरिक्त मात्रा (बुस्टर डोज) खोप लगाउन विशेष आग्रह गर्न निर्देशन दिएको समेत उनले बताए। ‘पुनः संक्रमण बढ्न थाले पनि अहिले नै के गर्ने भनेर रणनीति नबनाइए पनि बुष्टर डोज तथा जनस्वास्थ्यका मापदण्ड कडाइका साथ पालना गर्नुपर्ने देखिन्छ‚’ डा. अधिकारीले भने यसरी नै संक्रमण बढ्दै गयो भने संक्रमण नियन्त्रणमा थप रणनीति बनाइनेछ।’मन्त्रालयले कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि अतिरिक्त मात्रा (बुस्टर डोज) सबैलाई लगाउन निर्देशन दिएको छ । अहिले उपत्यकासहित सबै ठाउँमा बुस्टर डोज लगाउने अभियान सञ्चालनसमेत भइरहेको छ । पछिल्लो समय नेपालमा संक्रमण दर घटेसँगै मानिसहरुले मास्क लगाउन छाडेका छन् । जनस्वास्थ्यको लागि सामाजिक सुरक्षाका मापदण्डहरु पनि निकै खुकुलो भएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्