झापा , चैत्र १६ । पछिल्लो १५ दिनमा सरकारले २७ अर्ब ३४ करोड चार लाख रुपैयाँ राजस्व संकलन गरेको छ ।

महालेखा नियन्त्रक कार्यालयका अनुसार चैतको १ गतेदेखि १५ गतेसम्म उक्त राजस्व संकलन भएको हो । चालु आर्थिक वर्षको फागुन मसान्तसम्म ६ खर्ब १७ अर्ब ९७ करोड रुपैयाँ राजस्व संकलन भएको थियो । त्यसयता चैत १५ गतेसम्म ६ खर्ब ४५ अर्ब ३१ करोड रुपैयाँ राजस्व संकलन भएको महालेखा नियन्त्रक कार्यालयले जानकारी दिएको छ । जसमा भन्सार महसुल, मूल्य अभिवृद्धि कर, अन्तःशुल्क शिक्षा सेवा शुल्क, आयकरलगायत शीर्षकमा ६ खर्ब नौ अर्ब ७६ करोड रुपैयाँ संकलन भएको छ भने अन्य प्राप्तिबापत ३५ अर्ब ५५ करोड रुपैयाँ संकलन भएको जानकारी दिइएको छ । चालु आर्थिक वर्ष सकिन अब साढे तीन महिना बाँकी रहेको छ । तर , हालसम्म लक्ष्यको साढे ४३ प्रतिशत मात्र राजस्व संकलन भएको छ । चालु आर्थिक वर्षमा १४ खर्ब तीन अर्ब १४ करोड रुपैयाँ राजस्व संकन गर्ने लक्ष्य राखिएको छ । जसमा कर राजस्वबापत १२ खर्ब ९५ अर्ब ३७ करोड रुपैयाँ संकलन गर्ने लक्ष्य राखिएको छ भने गैरकर राजस्वबापत एक अर्ब सात अर्ब ७७ करोड रुपैयाँ संकलन गर्ने लक्ष्य राखिएको छ । महालेखाका अनुसार चैत १५ गतेसम्म कर राजस्वतर्फ पाँच खर्ब ५१ अर्ब ६ करोड रुपैयाँ संकलन भएको छ भने गैरकर राजस्वतर्फ ५८ अर्ब ७० अर्ब रुपैयाँ राजस्व संकलन भएको छ । प्रतिशतका आधारमा चैत १५ गतेसम्म कर राजस्वतर्फ लक्ष्यको ४२.५४ प्रतिशत र गैरकर राजस्वतर्फ ५४.४७ प्रतिशत असुली भएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्