झापा , चैत्र १६ । कोसी प्रदेश नाम खारेज हुनुपर्ने माग गरिरहेका पहिचानवादीले अन्तिम संघर्ष गर्ने घोषणा गरेका छन् ।

File Photo

प्रदेश नं. १ पुनः नामाङ्कन संयुक्त संघर्ष समितिले चैत २५ गतेपछि प्रदेश राजधानी विराटनगरमा निर्णायक आन्दोलन गर्ने घोषणा गरेका हुन् । विद्यालयमा सञ्चालन हुने एसईई परीक्षालाई ध्यानमा राख्दै त्यसअघि आन्दोलन नगर्ने निणर्य गरिएको जनाइएको छ । परीक्षालगायतका कार्यक्रमहरु प्रभावित हुने भएकोले यस्तो निणर्य भएका बताइएको छ । विद्यालयहरुमा चैत १७ देखि २५ गतेसम्म एसईई परीक्षा हुँदै छ । संघर्ष समितिमा नेता अर्जुन जम्नेली राईले तालाबन्दीसहित ठूलो विरोध जुलुस र प्रदर्शनलाई हाल स्थगित गर्ने निणर्य भएको जानकारी दिएका छन् । परीक्षापछि निर्णायक आन्दोलन गर्ने समितिले तयारी गरेको उनले बताए । आन्दोलनका क्रममा मृत्यु भएका मोरङका पदम लिम्बू लाजेहाङलाई सहिद घोषणा गरी क्षतिपूर्तिको सुनिश्चित नगरेसम्म शव पोस्टमार्टम नगरिने बताउँदै राईले भने, “सरकारलाई दवाव दिन र चैत २५ गतेपछि भने निर्णायक आन्दोलन गर्ने निणर्य भएको छ ।” समितिले यसअघि संयुक्त राष्ट्रसंघ, विदेशी कुटनीतिक नियोग र मानवअधिकार आयोगलाई आन्दोलनबारे औपचारिक जानकारी गराउने निणर्य गरेको छ । यसैगरी साहित्यिक कार्यक्रम, जिल्ला र नगरगाउँ जागरणका अभियान सञ्चालन गर्ने पनि तय भएको राईले बताए । यस अवधिमा प्रदेशका सांसदका कार्यक्रममा अवरोध र बहिष्कार गर्ने कार्यक्रम भने जारी रहने बताइएको छ । गत फागुन १७ गते प्रदेशसभाले प्रदेशको नाम कोसी राखेसँगै पहिचानवादी आन्दोलनमा छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्