दमक, चैत २० । दमक नगरमा क्रियाशील ६ वटा विभिन्न राजनीतिक दलले नगर कार्यपालिकाको गत चैत ७ गते भएका निर्णयहरु विवादस्पद र व्यक्तिगत स्वार्थ केन्द्रित भएको आरोप लगाउँदै त्यसलाई सच्याउनु पर्ने माग अघि सारेका छन् ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, नेपाल कम्युनिष्ट पार्टी र संघीय लिम्बुवान मञ्चले सोमबार संयुक्त पत्रकार सम्मेलन गर्दै नगर प्रमुख रामकुमार थापाले बहुमतीय खेलमा लागेर नेकपा एमालेसम्बद्ध जनप्रतिनिधिहरुको उक्साहटमा जनभावना र चुनावबाट प्राप्त मतादेशविपरित स्वास्थ्य संयोजक बनेर दमक अस्पतालमा नीतिगत रुपमै चलखेल गर्न खोजेको आरोप लगाएका हुन् ।

पत्रकार सम्मेलनमा कांग्रेस केन्द्रीय सदस्यसमेत रहेकी नेतृ महेन्द्रकुमारी लिम्बू, कांग्रेस कोशी प्रदेश समिति सदस्यसमेत रहेकी नगर उपप्रमुख रेगिना भट्टराई, भुमिराज राईलगायतका पार्टी नेतृत्वको उपस्थिति रहेको थियो । पत्रकार सम्मेलनमा नगर उपप्रमुख भट्टराईले चैत ७ गतेको कार्यपालिका बैठकमा नगर प्रमुख थापाले सहमतिका लागि आफूले पहल गर्ने र सबैलाई मान्य हुने निर्णय गरिने भनेर आश्वासन दिएर अन्त्यमा संवाद, सहमति र सहकार्यलाई तोडदै एकतर्फी रुपमा विभिन्न समितिहरुको प्रस्ताव कार्यपालिकामा लगेको र एमाले, राप्रपाको बहुमतबाट पारित भएको घोषणा गरेको जिकिर गरिन् । उनले भनिन् ,–‘सहमतीय अभ्यास र परम्परालाई तोडेर नगरमा बहुमतको दम्भ प्रस्तुत गर्दा दमकको बृहत्तर हित र विकासमा प्रतिकुल असर पर्न सक्नेतर्फ गम्भीर हुनुपर्नेमा बहुमतपक्षीय जनप्रतिनिधिहरु संवेदनशील नहुनु ठिक नभएकाले आफूहरु असहमति राखेर बैठकबाट बाहिरिन बाध्य भयौं । ’

पत्रकार सम्मेलनमा वितरित संयुक्त प्रेस विज्ञप्तिमा संघीय लोकतान्त्रिक गणतन्त्र, समावेशी लोकतन्त्रको मर्म र भावनाविपरित स्वेच्छाचारी, निरंकुश र प्रतिगामी हर्कतको भत्र्सना गर्दै यस्ता हर्कतका विरुद्ध राजनीतिक र कानुनी रुपमा सशक्त किसिमले प्रतिवाद गर्ने चेतावनी समेत दिइएको छ । विज्ञप्तिमा दमक नगरभित्र राजनीतिक अनिश्चय, अन्योलता र अराजकता सृजना गर्ने नगर प्रमुखसहित गलत निर्णयका लागि उक्साउने एमाले जनप्रतिनिधिहरुलाई आफ्नो पदको गरिमा कायम राख्न समेत चेतावनी दिइएको छ ।

विज्ञप्तिमा चैत ७ गते भएका निर्णयहरु तुरुन्त सच्याउँदै सार्वजनिक महत्वका बिषयहरुमा सर्वपक्षीय सहभागिता अनिवार्य गर्न आग्रह पनि गरिएको छ ।
चैत ७ मा नगर कार्यपालिकाको बैठकले नगर स्वास्थ्य संयोजक नगर प्रमुख थापालाई तोक्दै एमाले र राप्रपा निकटका औषधि व्यवसायी समेतलाई समितिको सदस्यको रुपमा तोकेको थियो । त्यस्तै शिक्षा समिति संयोजकमा दमक ९ का वडाध्यक्ष कुबेर भट्टराई र ८ का वडाध्यक्ष धर्मप्रसाद दाहाललाई प्रवक्ताको जिम्मेवारी दिइएको थियो । बैठकका निर्णयहरु आधिकारिक रुपमा सार्वजनिक गर्ने नगरपालिकाको यसअघिको अभ्यास अहिले तोडिएको छ भने अघिल्लो पटक नगर उपप्रमुखको अध्यक्षतामा स्वास्थ्य समिति ( दमक अस्पताल समेत) , उपप्रमुखकै संयोजकत्वमा शिक्षा समिति रहेको थियो भने उपप्रमुखलाई नै नगरको प्रवक्ता तोकिएको थियो । नगरमा यसअघि भएको नजिरलाई तोडेर यसपटक बहुमतका आधारमा राप्रपा र एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुले यी महत्वपूर्ण पदमा जिम्मेवारी लिँदै कांग्रेसबाट निर्वाचित उपप्रमुख र कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरुलाई कार्यपालिकाबाट थप कुनै जिम्मेवारी नदिइएपछि कांग्रेससहितका ६ दलहरु असन्तुष्ट बनेका हुन् ।

पत्रकार सम्मेलनमा कांग्रेस नेतृ लिम्बू, क्षेत्रीय सभापति ढुण्डीराज भण्डारी, माओवादी दमक नगर इञ्चार्ज बेदु गौतमसहित नेताहरुले नगरपालिकामा बहुमतका आधारमा पेल्ने र जनभावना विपरितका अभ्यासहरु हुने गरेको भनी कडा आलोचना गरे ।
त्यहाँ वितरित प्रेस विज्ञप्तिमा कांग्रेसका दमक नगर सभापति प्रकाश प्रसाई, माओवादी केन्द्रका नगर अध्यक्ष कुलबहादुर बस्नेत, जसपाका नगर अध्यक्ष महेन्द्र चाम्लिङ, एकीकृत समाजवादीका नगर अध्यक्ष महेश घिमिरे, नेकपा दमक सचिव कमल पराजुली र संघीय लिम्बुवान मञ्चका नगर अध्यक्ष यामबहादुर लोरिङदेनले हस्ताक्षर गरेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्