झापा, चैत २६ । लघुवित्त संस्थाहरूको ज्यादतीविरुद्ध झापाका महिलाहरू पनि संगठित भएर आन्दोलनमा उत्रिएका छन् ।

लघुवित्त संस्थाविरुद्धको संघर्ष समिति झापाले सरकारसमक्ष पाँच बुँदे माग अघि सार्दै चैत २१ गतेदेखि जिल्ला प्रशासन कार्यालय झापाको मुख्य प्रवेशद्वार अगाडि अनिश्चितकालीन धर्ना जारी राखेको छ ।

जिल्लाका विभिन्न स्थानबाट आएका लघुवित्त संस्थाका पीडित महिलाहरू बिहान १० देखि बेलुका ५ बजेसम्म धर्नामा बस्दै आएको संघर्ष समितिकी संयोजक लिजा राईले बताइन्् । ६ दिनदेखि चलिरहेको विरोधसहितको धर्ना कार्यक्रममा चार दर्जनबढी पीडित महिला सहभागी छन् ।
संघर्ष समितिले ‘नवसामन्तीका रुपमा स्थापित लघुवित्त संस्थाहरू खारेज गर, लघुवित्त संस्थाहरुद्वारा लगाइएको सामूहिक ऋण मिनाहा गर, आम गरिब किसानहरूलाई निःशुल्क ऋण प्रदान गर, आवश्यकता र क्षमताका आधारित काम र दामको व्यवस्था गर र समाजवादी अर्थतन्त्रको विकास गर’ लगायतको माग अघि सारेको छ । ६ दिनदेखि धर्नामा बसेको आफूहरुको माग सरकारको कानसम्म नपुगेको आक्रोश पोख्दै संयोजक राईले भनिन्, ‘लघुवित्तबाट पीडित महिलाहरूको माग पूरा नभएसम्म धर्ना कार्यक्रम जारी रहन्छ, आन्दोलनलाई अझ सशक्त बनाएर उत्रिने छौँ ।’

त्यस्तै संघर्ष समिति कोशी प्रदेशका सल्लाहकार संयोजक सुभाषचन्द्र मैनालीका अनुसार धर्ना कार्यक्रमबाट सरकारलाई दबाब नपरेकोले केन्द्रीय संघर्ष समितिले छिट्टै थप संघर्षका कार्यक्रमहरू सार्वजनिक गर्न लागेको छ । लघुवित्त संस्थाका कारण झुन्डिएर, विषसेवन गरी आत्महत्या गर्ने, घरबार बिग्रिनेजस्ता महिलाहरू यस आन्दोलनमा सहभागी भएको बताउँदै मैनालीले भने, ‘एकातिर लघुवित्त संस्थाका कर्मचारीले पीडित महिलाहरूलाई दबाब दिइरहेका छन् भने अर्कोतिर समूहका ऋण तिर्न सक्ने महिलाहरूको दबाब पनि उस्तै छ ।’

‘एउटा ऋणीले कति वटा संस्थाबाट ऋण लिएका छन् । त्यसको प्रमाण र आधार नखोजेर आफ्नो संस्थाको फाइदाको लागि कम्तीमा १० जना महिलाको समूह बनाएर जथाभावी ऋण दिँदा यस्तो अवस्था महिलाहरूले भोग्नु प¥यो,’ उनले भने ।

संघर्ष समितिको यस आन्दोलनमा नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाहेक कुनै पनि राजनीतिक दलहरूले समर्थन नगरेको उनको गुनासो छ । यता नेकपाका मेची ब्युरो इन्चार्ज सुमन सिंहले धर्ना कार्यक्रम स्थल पुगेर संघर्ष समितिको आन्दोलनलाई ऐक्यवद्धता जनाएका छन् । राज्यले लघुवित्तबाट पीडित महिलाहरूको माग सुनवाइ नगरेसम्म पार्टीले आफ्नो तर्फबाट आन्दोलनलाई सघाउने उनको भनाई छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्