झापा, चैत २९ । बिर्तामोड –२ चारपानेस्थित मोहनमाया माध्यमिक विद्यालयमा नयाँ शैक्षिक सत्रका लागि १ सय २० जना विद्यार्थीको भर्ना खुल्ला गरिएको थियो । तर, विद्यालयमा भर्ना हुनका लागि ११ सय विद्यार्थीले आवेदन दिए ।

भर्ना हुनका लागि तँछाडमछाड चलेपछि विद्यालयले भर्ना हुनका लागि प्रवेश परीक्षा उत्तीर्ण हुनुपर्ने नियम बनाएको थियो ।

विद्यालयका प्रधानाध्यापक शेरबहादुर श्रेष्ठले नर्सरीदेखि कक्षा ९ सम्म १ सय २० जना विद्यार्थीको लागि भर्ना फारम खुल्ला गरिएको बताए । उनका अनुसार नर्सरीदेखि कक्षा ५ सम्म ४० जना विद्यार्थीका लागि भर्ना खुल्ला गरिएकोमा सो कोटाको लागि ६ सय विद्यार्थीले प्रवेश परीक्षा दिएका छन् ।यस्तै कक्षा ६ देखि ९ सम्म ८० जनाको कोटामा ५ सय विद्यार्थी प्रवेश परीक्षामा सामेल भएको प्रधानाध्यापक श्रेष्ठले जानकारी दिए ।

विद्यालयले उत्कृष्ट नतिजा ल्याउन थालेपछि अभिभावक र विद्यार्थीको रोजाईमा मोहनमाया मावि परेको छ । कति विद्यालयमा नयाँ शैक्षिकसत्र शुरु भएपछि विद्यालयका प्रतिनिधि घर–घरमा विद्यार्थी बटुल्न जाने गर्छन् ।तर,मोहनमाया माविलाई भर्ना हुन खोज्ने विद्यार्थीको चाप थेग्न गाह्रो परिरहेको छ । विद्यार्थी भर्नाका लागि विद्यालयका प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्षलाई सोर्स फोर्स आउने गरेको बताइन्छ । १७ सय विद्यार्थी अध्ययनरत रहेको सो विद्यालयमा नेपाली तथा अंग्रेजी दुबै माध्यममा पठनपाठन हुने गरेको विद्यालयका प्रधानाध्यापक श्रेष्ठले जानकारी दिए ।

४४ जना मात्र बालबालिकाले अध्ययन गर्न मिल्ने कक्षाकोठा रहेको र भवन अभावका कारण अभिभावकले माग गरेअनुसार विद्यार्थी लिन नसकिएको श्रेष्ठले बताए ।बिर्तामोड नगरपालिकाभित्र ७५ वटा विद्यालय संचालनमा रहेका छन् ।त्यसमध्ये १८ वटा सामुदायिक विद्यालय रहेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्