बिर्तामोड, चैत ३० । बिर्तामोड नगरपालिकाले बैशाख ३ गते आइतबार स्थानीय विदा दिने निर्णय गरेको छ ।

नगरप्रमुख पवित्रा महतारा प्रसाईको अध्यक्षतामा बिहीवार बसेको नगरकार्यपालिकाको बैठकले सिरुवा पर्वको अवसरमा विदा दिने निर्णय गरेको हो । बैठकले बैशाख ३ गते नियमितरुपमा सिरुवा पर्वको स्थानीय विदा दिने निर्णय गरेको जनाइएको छ।

झापा, मोरङ र सुनसरी जिल्लामा बस्ने राजवंशी, थारु, गनगाई, ताजपुरिया, माझीलगायतका जातिले सिरुवा मनाउने गर्छन् । राजवंशी समुदायले बैशाख १ देखि ३ गतेसम्म सिरुवा पर्व मनाउने गर्दछन् । जसमा पहिलो दिन जल सिरुवा, दोस्रो दिन कादो सिरुवा र तेस्रो दिन रंग सिरुवा मनाउने गर्दछन् ।

यस्तै कार्यपालिकाको बैठकले प्रदेश समपुरक कोषको लागि गोकुल जोशी मार्ग निर्माण सम्बन्धी योजनालाई निरन्तरता दिने, सिटिइभिटीद्वारा सञ्चालित बहुप्राविधिक कलेज सञ्चालनका लागि लक्ष्मी आधारभूत विद्यालय वडा नम्बर ७ को नाममा दर्ता कायम रहेको ३ विगाह १९ कठ्टा १० धुर जग्गा उक्त कलेज सञ्चालनका लागि ३० वर्षको लागि लिजमा लिनेगरी आवश्यक प्रक्रिया अगाडी बढाउने, राजश्व परिचालनलाई व्यवस्थित बनाउन सम्बन्धित वडाका वडाध्यक्ष वा निजले तोकेको वडा सदस्यको संयोजकत्वमा बैशाख ५ गतेदेखि घुम्ती सेवा सञ्चालन गर्ने निर्णय गरेको छ ।

यस्तै बैठकले बिर्तामोड नगर अस्पतालमा रहेको पुरानो भवन रहेको ठाउँमा नयाँ भवन निर्माण गर्नु पर्ने भएकोले हाल रहेको पुरानो भवनलाई नियमानुसार लिलाम बिक्री गर्ने, नगरपालिकाको हाल रहेको प्रशासकीय भवन अपुग भएकोले नयाँ भवन निर्माणका लागि शहरी विकास मन्त्रालय स्थानीय पूर्वाधार विभागमा प्रस्ताव पेश गर्ने, मदरसा तालिमुल कुरान वडा नम्बर ३ र नगर गौरव भिलेज नयाँ बस्ती वडा नम्बर ७का लागि आगामी आर्थिक वर्षदेखि एक÷एक जना बाल विकास शिक्षक उपलव्ध गराई कक्षा सञ्चालन गराउनेलगायतका निर्णय गरेको छ ।

बैठकमा बोल्दै नगरप्रमुख प्रसाईले कार्यपालिकाले गरेका निर्णयहरुलाई उत्तरदायी ढंगले कार्यान्वयन गर्न सबैलाई आग्रह गरिन् । जनताले अनुमोदन गरेर पठाएका जनप्रतिनिधिले प्रक्रियागत ढंगबाट निर्णयलाई अक्षरस पालना गर्नु पर्नेमा उनले जोड दिइन् ।
कार्यपालिका बैठकमा संघीय सांसद अमृतलाल राजवंशीको पनि उपस्थिति रहेको थियो । बैठकमा बोल्दै सांसद राजवंशीले गत वर्ष धानमा र यस वर्ष मकै तथा घरहरुमा हावाहुरी तथा असिनापानीले पुर्याएको क्षतिको राहतका लागि सदन र सम्बन्धित मन्त्रालयमा पहल गर्ने बताए । उनले बिर्तामोड, कनकाई र अर्जुनधारा नगरपालिकालाई जोड्ने रिङरोडको अवधारणालाई अगाडी बढाउन समेत सम्बन्धित मन्त्रालयमा पहल भईरहेको जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्