झापा , बैशाख १ । नयाँ वर्षमा नाना , खाना र छाना पाएपछि अत्यन्त दयनीय अबस्थाका लाखबहादुर विश्वकर्माको परिवारमा यतिबेला खुशी छाएको छ ।

बिर्तामोड नगरपालिका ८ का वडाध्यक्ष अजय कार्कीको अग्रसरतामा बिर्तामोड– ७ स्थित देउनियाको खोलाको बगरमा भत्केको सानो छाप्रोमा अभावमा बाँचिरहेका विश्वकर्माको परिवारले नयाँ वर्षमा घरको छानो , सुत्ने खाट , लगाउने लुगाकपडा, जुत्ताचप्पल, खाने खाद्यान्नदेखि चाडपर्व मनाउन मासुसमेत पाएका छन् । कष्टकर जीवनयापन गरिरहेका विश्वकर्मा परिवार त्यसरी सबै सहयोग एकैचोटी पाएपछि दंग बनेका छन् । बिर्तामोड ८ का वडाध्यक्ष कार्कीको अगुवाईमा वडा समितिले विश्वकर्माको घरमै पुगेर २ बन्डेल कर्कटपाता,दुईवटा खाट , दुई बोरा चामल,दाल , नून तेल,सिरक , डस्ना , सिरानी ,तन्ना ,लगाउने लुगा , जुत्ताचप्पल , बिस्कुट , चकलेट र पर्व मनाउन मासु वितरण गरेको हो ।दीनदुःखी विश्वकर्माको परिवारको लागि सो सामग्री अमेरिकामा रहेका नेपालीहरुले सहयोग गरेका हुन् । पेन्सल्भेनियाका छला खनाल , बन्दना खनाल ,हरि भट्टराई , गंगा चिमरिया ,हरि खनाल, ओहायोका घना खतिवडा र माधव अधिकारीले ती सामग्री उपलब्ध गराएका हुन् ।

सहयोग सामग्री हस्तान्तरण गर्दै वडाध्यक्ष कार्कीले होटल रेष्टुरेन्टमा गएर नयाँ वर्ष मनाउनुभन्दा गरिव असहायलाई सहयोग गर्दा आफूलाई सन्तुष्टि मिलेको बताए । उनले त्यस सहयोगबाट विश्वकर्मा परिवारलाई ठूलो राहत पुग्ने विश्वास व्यक्त गरे । उनले अमेरिकामा रहेका सहयोगी हातहरु त्यस्ता गरिव दुःखीहरुलाई सहयोग गर्न तत्पर रहेकाले त्यस किसिमका पवित्र कार्यलाई निरन्तरता दिने जानकारी दिए । कार्यक्रमको अध्यक्षता गरेका निचाझोडा सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष बद्री प्याकुरेलले विपन्न विश्वकर्माको परिवारमा पनि नयाँ वर्ष आओस् भनेर आफूहरुले नयाँ वर्षकै दिन सो सहयोग प्रदान गरेको बताए । कार्यक्रममा वडा सदस्यहरु अग्नीप्रसाद सिटौला , सोयालाल राजवंशी , इन्दिरा पाण्डे , लक्ष्मी मैनाली , समाजसेवीहरु रमेश कार्की , कुमार दर्नाललगायतको सहभागिता रहेको थियो । कार्यक्रमको संचालन संचारकर्मी सरोज पौडेलले गरेका थिए ।

५१ वर्षिय लाखबहादुर विश्वकर्मा , उनकी श्रीमती कुमारी विश्वकर्मा , उनीहरुका ७ महिनादेखि १० वर्षका चार छोराले बगरमा रहेको छाप्रोमा आश्रय लिइरहेका छन् । उनीहरु यसअघि उत्तम मैनाली , उदय कुँवर र नेत्र आङदम्बेको घरमा आश्रय लिएर बसेका थिए । केही महिनाअघि गाउँलेले सरसहयोग गरी ऐलानी जग्गामा छाप्रो बनाइदिएका हुन् ।विश्वकर्मा परिवारलाई खानेपानीको लागि ट्युवेल , बिजुली र शौचालयको अत्यन्त खाँचो रहेको छ । केही दिनभित्रै ती सहयोग पनि उपलब्ध गराउने वडाध्यक्ष कार्कीले बताए । विश्वकर्मा अर्काको घरमा आरनको काम गर्दै आएका छन् । त्यसबाट ६ जनाको परिवार पाल्न गाह्रो परिरहेको उनले समस्या सुनाए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्