झापा, बैशाख १ । कचनकवल गाउँपालिका– ७ बालुवारीस्थित साना किसान कृषि सहकारी संस्थामा भएको हिनामिनाका बारेमा गाउँपालिका कार्यालयले छानबिन शुरु गरेको छ ।

सहकारीका प्रवन्धक युवराज खत्री र सहायक प्रवन्धक निरुमाया राजवंशीले १ करोड ४६ लाख रकम हिनामिना गरेको विषयमा गाउँपालिकाले छानबिन शुरु गरेको हो ।

सहकारीमा भएको हिनामिनाका विषयमा गाउँपालिकाको न्यायिक समितिमा उजुरी परेको छ । गाउँपालिकाले सहकारी शाखा अधिकृत गौरव रिजालको संयोजकत्वमा छानबिन समिति बनाएको छ । सो समितिले प्रारम्भिक प्रतिवेदन बुझाइसकेको गाउँपालिका उपाध्यक्ष नवराज भट्टराईले बताए । प्रतिवेदनमा धेरै रकम अपचलन भएको र प्रवन्धक खत्रीले बैंकबाट झिकेको १० लाख रकमसमेत नबुझाएको उल्लेख छ । हिनामिनामा संलग्न भनिएका खत्री र राजवंशीको परिवारलाई ७ दिनभित्र आफ्नो जवाफ पेश गर्न पत्र पठाइएको उपाध्यक्ष भट्टराईले बताए ।

‘छानबिन समितिले अझै अनुसन्धान गरिरहेको छ ’ उपाध्यक्ष भट्टराईले भने,‘सयौं सर्वसाधारणको रकम डुबेकोले यसलाई टुंग्याउनै पर्छ । ’ उनले हिनामिना गर्नेलाई गाउँपालिका कार्यालयले कार्वाही गर्न नसक्ने भएपछि त्यसलाई कानूनी कार्वाहीका लागि प्रहरीमा पठाउने विषयमा सल्लाह भइरहेको जानकारी दिए । सो संस्थामा ६६४ जना शेयर सदस्य रहेका छन् । कचनकवल ७ स्थायी ठेगाना भएका खत्री गत चैत ११ गतेदेखि रकम हिनामिना गरी फरार भएका छन् ।तालिमका लागि पोखरा जान्छु भनी गएका खत्री नफर्किएको बताइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्