झापा, बैशाख १ । सस्तोमा जग्गा मिलाइदिने भनी ३२ लाख रकम लुटेर फरार भएका चारजनालाई प्रहरीले पक्राउ गरेको छ ।

चैत ३० गते बिहीवार दिउँसो १ बजे अर्जुनधारा ११ विर्तामोड बसपार्कनजिकै दुई कठ्ठा जग्गा किन्नका लागि मोरङको उर्लाबारीबाट आएका बिष्णुमाया सापकोटा (सुवेदी) र अनिल विश्वकर्माले साथमा लिएर आएको ३२ लाख रुपैयाँ लुटेर जग्गा कारोबारी फरार भएका थिए । ‘जग्गा सस्तो दरमा बिक्रीमा रहेको छ खरिद गर्न आउनु’ भनी कमल ५ बस्ने ५२ वर्षिय बिजय राईले उनीहरुलाई बोलाएका थिए । राई र जग्गा किन्न खोज्ने विष्णुमाया सुवेदी एकै गाउँका चिनजानका व्यक्ति हुन् । विष्णुमायाले जग्गा बैना गर्नका लागि छिमेकी अनिल विश्वकर्मालाई साथमा लिएर उर्लाबारीबाट बिर्तामोड आएकी थिइन् ।

राईले मोरङको बेलबारी नगरपालिका–६ घर भई झापाको मेचीनगर नगरपालिका–६ बस्ने ५५ वर्षिय रणबहादुर पोख्रेलसँग मिलेर उनीहरूलाई लुट्ने योजना बनाएका थिए । दुईजनाले मात्र लुटपाट गर्न नसकिने ठानेर राईले काठमाडौंमा रहेका राजेश श्रेष्ठ र जनक रेग्मीलाई दुई दिन अगाडि नै झापा बोलाएका थिए ।

चारजना मिलेर पूर्वनिर्धारित योजनाअनुसार जग्गा खरिदकर्तालाई नवज्योति होटलमा बोलाएर बैना कागज नै नगरी विष्णुमायाको साथमा रहेको ३२ लाख रुपैयाँ लुटेर फरार भएका थिए । फरार भएकाहरूको खोजतलास गर्ने क्रममा दुईजना व्यक्तिहरू इलामबाट पक्राउ परेका छन् ।

रामेछापको देउराली गाउँपालिका–२ घर भई हाल भक्तपुर बस्ने ३९ वर्षिय राजेश श्रेष्ठ र पाँचथरको मिक्लाजुङ गाउँपालिका–४ घर भई काठमाडौँको गर्जुधारा बस्ने ५२ वर्षिय जनक रेग्मी झापाबाट भागेर इलाम पुगेपछि पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय इलामको समन्वयमा इलाम नगरपालिका–७ पुरानो बसपार्कमा रहेको देउराली होटलमा लुकिछिपि बसेको अवस्थामा नगद १४ लाख ६५ हजारसहित श्रेष्ठ र रेग्मी आज दिउँसो पक्राउ परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी खगेन्द्र रिजालले बताए ।
त्यस्तै, अर्जुनधारा नगरपालिका–११ मा रहेको थापा होटल एण्ड लजको कोठा नं. १०१ मा लुकेर बसेका राई र पोखरेललाई पनि प्रहरीले आजै पक्राउ गर्न सफल भएको छ । उनीहरूको साथबाट प्रहरीले १३ लाख रुपैयाँ बरामद गरेको छ ।

लुटिएको ३२ लाख रकममध्ये उनीहरूको साथबाट २७ लाख ६५ हजार रकम बरामद भएको छ । बाँकी रहेको चार लाख ३५ हजार रकम उनीहरूले खर्च गरिसकेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको डीएसपी रिजालले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्