बिर्तामोड,बैशाख ३ । बिर्तामोड १० सैनिकबजारमा प्रदेशस्तरीय महिला फुटबल प्रतियोगिता हुने भएको छ ।

अल इन वान क्लबको आयोजनामा बैशाख ९ देखि १६ गतेसम्म महेन्द्र ज्योति माविको खेलमैदानमा प्रथम प्रदेशस्तरीय महिला गोल्डकप हुन लागेको हो ।

आयोजक क्लबले आज बिहान पत्रकार सम्मेलन गरी प्रतियोगिताको तयारीका बारेमा जानकारी दिएको छ । प्रतियोगितामा झापा, मोरङ, इलाम , ताप्लेजुङ, सुन्सरी , उदयपुर ,सप्तरी र धनकुटाको टोली सहभागी हुने आयोजक क्लबका अध्यक्ष कृष्ण योञ्जनले बताए । उनले प्रतियोगिताका विजेता टीमले २लाख २ हजार र उपविजेता टीमले १ लाख १ हजार नगद पुरस्कार , शिल्ड र प्रमाणपत्र पाउने जानकारी दिए ।त्यस्तै क्वाटरफाइनल खेलका प्लेयर अफ द म्याचले ३ हजार , सेमिफाइनल खेलका प्लेयर अफ द म्याचले ४ हजार पुरस्कार पाउने भएका छन् । प्रतियोगिता सम्पन्न गर्न १४ लाख ४२ हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । बिर्तामोड नगरपालिका , १० नं वडा कार्यालयलगायत विभिन्न संघसंस्था र सहयोगी हातहरुबाट आर्थिक स्रोत संकलन गरिने योञ्जनले बताए ।

कार्यक्रममा बिर्तामोड १० का वडाध्यक्ष दुर्योधन गुरुङ, झापा जिल्ला फुटबल संघका अध्यक्ष भगिरथ आले मगर , नगर खेलकुद विकास समिति बिर्तामोडका उपाध्यक्ष सन्तोष गुरुङलगायतले बोल्दै खेलको लागि उर्वर रहेको सैनिकबजारमा यस प्रतियोगिताको आयोजनाले अझ महत्व बढ्ने बताएका थिए । कार्यक्रमको संचालन अल इन वान क्लबका सचिव रोशन खरेलले गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्