झापा , बैशाख ३ । कोशी प्रदेश नामकरणको विरुद्धमा आन्दोलनरत पहिचानवादीहरुले मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई नबोलाउन चेतावनी दिएपछि झापाको हल्दिवारी ४ मा आज हुने भनिएको मेचे सिवियारी आफतको अधिवेशन स्थगित भएको छ ।

आयोजक संस्थाले आफ्नो अधिवेशनमा प्रमुख अतिथिको रुपमा मुख्यमन्त्री कार्कीलाई बोलाउने तयारी गरेका थिए । त्यसको जानकारी पाएपछि आदिवासी जनजाति महासंघ नेतृत्वको प्रदेश नं १ पुनः नामांकन संघर्ष समितिले आयोजकलाई मुख्यमन्त्री नबोलाउन आग्रह गरेको थियो ।

त्यस्तै जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाउँदै मुख्यमन्त्रीलाई नबोलाउन र यदि अटेर गरी बोलाएमा मुख्यमन्त्री सहभागी हुने कार्यक्रममा विरोध प्रदर्शनबाट सिर्जना हुन जाने परिणामको जिम्मेवारी सम्बन्धित पक्षले लिनुपर्ने पहिचानवादीहरुले चेतावनी दिएका थिए । त्यसपछि मेचे सिवियारी आफतको अधिवेशन स्थगित गरिएको हो ।

तर, मेचे समुदायको महान पर्व बैशागु बथरको कार्यक्रम भने आयोजना गरिएको छ । हल्दिवारी ४ स्थित दिपेन्द्र आधारभूत विद्यालयमा सो कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रमको प्रमुख अतिथिको रुपमा झापा क्षेत्र नं ४ का संघीय सांसद एलपी साँवा आउने भएको मेचे सिवियारी आफतका वीरेन मेचेले बताए । त्यस कार्यक्रममा आफूहरुलाई नबोलाइएको आदिवासी जनजाति महासंघका जिल्ला अध्यक्ष पाण्डवलाल चौधरीले बताए ।

केही दिनअघि सम्पन्न थारु कल्याणकारिणी सभाको जिल्ला अधिवेशनमा प्रमुख अतिथि प्रदेश सांसद एकराज कार्कीलाई बोलाउने तयारी रहेकोमा आन्दोलनकारीहरुले बहिष्कार गर्ने चेतावनी दिएपछि कार्कीको सट्टा थारु कल्याणकारिणी सभाका उपाध्यक्ष कनुलाल चौधरीलाई आयोजकले प्रमुख अतिथि बनाएका थिए । पहिचानवादीहरुले ८२ जना प्रदेश सांसद , प्रदेश सरकारका मन्त्रीहरु र मुख्यमन्त्रीलाई आफ्ना कार्यक्रममा बहिष्कार गर्दै आएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्