झापा, बैशाख ५ । पछिल्ला दिनमा देशभर वायु प्रदूषणको कहर भयावह रूपमा बढेको छ।

शनिबार साँझ र आइतबार बिहान काडमाडौँ विश्वकै प्रदूषित सहरको सूचीमा पहिलो नम्बरमा पुग्नु आफैँमा चिन्ताजनक पक्ष हो। वायु गुणस्तर सूचकांक (एक्युआइ) मा २०९ अंकसहित शनिबार साँझ काठमाडौँ विश्वकै विषाक्त हावा भएको सहर बनेको छ। शनिबार साँझको प्रदूषणले काठमाडौँलाई विश्वकै सबैभन्दा प्रदूषित मानिने भारतीय राजधानी नयाँ दिल्लीलाई समेत उछिन्ने स्थितिमा पु¥याएको छ। आइतबार बिहान पनि प्रदूषित सहरको सूचीमा काठमाडौँ पहिलो नम्बरमा थियो। विश्वका १०१ सहरको रियल टाइम प्रदूषण मापन गर्ने आइक्युएयर नामक संस्थाको तथ्यांकले यस्तो देखाएको हो।

एकाध दिन मात्र होइन, वर्षभर हुने सरदर प्रदूषणका हिसाबले पनि राजधानी काठमाडौँ विश्वका प्रदूषित सहरको सूचीमा अग्रपंक्तिमा छ। राजधानी मात्र होइन, समग्र नेपाल वायु प्रदूषणका हिसाबले विश्वमा अग्रसूचीमा रहेको छ। आइक्युएयरका अनुसार सन् २०२२ मा विश्वका १३१ देशमध्ये प्रदूषणका हिसाबले नेपाल १६औँ स्थानमा रहेको थियो।

पछिल्ला केही दिनमा पर्यटकीय सहर पोखरा पनि वायु प्रदूषणका कारण लागेको बाक्लो तुवालोका कारण ठप्प भएको छ। बिहीबारदेखि शनिबारसम्म हवाई यातायात पूर्णरूपमा बन्द हुनुको कारण यही हो। प्रदूषणका कारण नयाँ वर्ष मनाउन पोखरामा गरिएका होटल बुकिङ रद्द भएका छन्। यसले तंग्रिन लागेको पर्यटन उद्योगलाई नराम्ररी प्रभावित गरेको छ। त्यसो त, राजधानी र पोखरामा मात्र होइन, मध्य तथा पूर्वी नेपालका तराई क्षेत्रमा पनि पछिल्ला दिनमा प्रदूषण ह्वात्तै बढेको छ।
सरकारी तर्कअनुसार तराईका बारा, पर्सा, चितवन लगायतका जिल्लामा दर्जनौँ स्थानमा लागेको डढेलो र कृषि अवशेष बाल्ने जस्ता प्रदूषणका स्थानीय स्रोतका कारणले देशका मध्य तथा पूर्वी भागमा वायु प्रदूषणको स्तर अत्यधिक रूपमा बढेको छ। यसैगरी घरबाहिर फोहोर जलाउने तथा यातायात साधनले गर्ने उत्सर्जन वायु प्रदूषणका लागि प्रमुख कारण मानिन्छ।

अव्यवस्थित सहरीकरण, सवारीसाधन र इँटाभट्टाले उत्सर्जनलगायतका कारण लाखौँ मानिसको बसोबास रहेको राजधानी काठमाडौँ त झन् प्रदूषणको केन्द्र बनेको छ। काठमाडौँमा वायु प्रदूषणका कारण पछिल्ला वर्षहरूमा श्वासप्रश्वाससम्बन्धी रोग, फोक्सोको क्यान्सरका साथै मुटु रोग, उच्च रक्तचाप, मस्तिष्कघातका बिरामीको संख्या बढेको छ।
काठमाण्डौ उपत्यकासहित देशका धेरैजसो ठाउँमा बढिरहेको वायु प्रदूषण अझै तीन दिनसम्म कायमै रहने भएको छ ।

प्रदूषणलाई नेपालबाट अन्यत्रै लैजाने गरी हावा नचल्ने र पानी पर्ने पनि सम्भावना नरहेकाले प्रदूषण अझै केही दिन स्थिर रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशका केही ठाउँमा लामो समयदेखि पानी नपरेको र धेरै ठाउँमा डढेलो लागेकाले वायु प्रदूषण उच्च भएको महाशाखाले जनाएको छ ।

यस्तै वातावरण विभागका प्रवक्ता शंकरप्रसाद पौडेलले डढेलोबाट निस्किएको धुवाँसँगै पानी पानी नपर्नु र हावा कम चल्नाले प्रदूषण सतह नजिक थुप्रिएको बताए ।
तत्काल पानी पर्ने र हावा चल्ने सम्भावना नरहेकाले प्रदूषण र तुवाँलो अझै बढ्ने मौसमविद् रोजन लामिछानेले बताए । उनका अनुसार आउँदो बिहीवार र शुक्रवार देशका पश्चिमी क्षेत्रमा पानी पर्ने सम्भावना छ । तर, त्यसअघि भने खासै पानी पर्ने सम्भावना नरहेको उनले बताए ।

प्रदूषण मापन गर्ने एक्यूएयरका अनुसार अहिले पाटनमा हावाको गुणस्तर सूचकाङ्क एक्यूआई १८६ छ । यस्तै, काठमाण्डौ रत्नपार्कको १८०, कीर्तिपुरको १७४, भक्तपुरको १६९ र दाङको तुलसीपुरको १६६ रहेको छ ।

प्रदूषण एक्यूआई ५० भन्दा धेरै भएमा कमजोर स्वास्थ्य भएका समूह जोखिममा पर्छन् भने एक सयभन्दा माथि भएमा सबैका लागि अस्वस्थ हुन्छ । प्रदूषणका कारण रुघाखोकी, दम र निमोनियाका बिरामी बढेका छन् ।यस्तै, कतिपयलाई धुवाँधुलोका कारण घाँटीमा संक्रमण भइरहेको छ भने कतिपयलाई एलर्जीको समस्या समेत देखिन थालेको छ । छाती रोग विशेषज्ञ डाक्टर निरज बमका अनुसार प्रदूषणका कारण विशेषगरी बालबालिका, ज्येष्ठ नागरिक र दीर्घरोगीहरुमा बढी असर परेको छ । रोग प्रतिरोधात्मक क्षमता कम हुने भएकाले उनीहरुलाई छिट्टै रोगले आक्रमण गर्ने डाक्टर बमले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्