झापा , बैशाख ४ । खोटाङको ऐसेलुखर्क गाउँपालिकाले शिक्षकको तलब सिधै खातामा हाल्दिने व्यवस्था कार्यान्यवनमा ल्याएको छ ।

यसअघिसम्म सम्वन्धित विद्यालयको खातामा शिक्षकको तलब जम्मा गरिदिँदै आएको गाउँपालिकाले शिक्षकको तलव मासिक रुपमा सिधै खातामा निकासा दिन थालेको हो । तलव वितरणलाई पारदर्शी र जवाफदेही बनाउनका लागि ‘सूत्र’मार्फत शिक्षकलाई सिधै खातामा तलव हालिदिने व्यवस्था कार्यान्वयनमा ल्याइएको गाउँपालिकाका लेखा प्रमुख पंकज आचार्यले बताए । तलब विवरणलाई ‘सूत्र’मार्फत कार्यान्वयन गर्ने पालिका प्रदेशमै ऐसेलुखर्क गाउँपालिका र इलामको सुर्योद्धय नगरपालिका मात्र रहेको दावी गरिएको छ ।

यसअघि शिक्षकको तलब सम्बन्धित् विद्यालयको खातामा जम्मा गर्ने र विद्यालयले सम्बन्धित् शिक्षकको खातामा जम्मा गरिदिने व्यवस्था थियो। तलबका लागि विद्यालयका प्रअ गाउँपालिका पुग्नुपर्ने, प्रअले विद्यालय छाड्दा प्रशासन र पठन-पाठनमा असर पुग्ने र कतिपय प्रअले भनेको बेला शिक्षकको तलब जम्मा नगरिदिने समस्या हल गर्नका लागि सिधै शिक्षकको खातामा तलब निकासा दिन थालिएको हो । गाउँपालिकामा करिब दुई सयको हाराहारीमा शिक्षक कार्यरत छन्। गाउँपालिकाले सिधै शिक्षकको खातामा तलब जम्मा गर्न थालेपछि प्रअको समय बचत भएको छ भने गाउँपालिका धाउने समयलाई विद्यालयको शैक्षिक क्रियाकलापमा खर्च गर्ने वातावरण बनेको आचार्यले बताए ।

‘छिटो र छरितो काम हुन्छ । शिक्षकको ग्रेड वृद्धि वारे थाहा हुन्छ । कर कट्टी कति गर्नुपर्ने भन्ने थाहा हुन्छ , शिक्षकको अवकाश मिति थाहा हुन्छ,’ आचार्यले भने, ‘कतिपय प्रअले चार/पाँच दिनसम्म शिक्षकलाई तलव दिएन भन्ने गुनासो सुनिन्थ्यो। अब तलवका लागि प्रअले पालिका धाइरहनुपर्दैन । त्यो समयलाई प्रअले पनि पठन-पाठनमा उपयोग गर्न सक्छन् ।’ २०७६ सालदेखि ‘सूत्र’ कार्यान्वयनमा ल्याएको गाउँपालिकाले २०७९ सालबाट चेकको सट्टा इएफटी (इलेक्ट्रोनिक्स फण्ड ट्रान्सफर) कार्यान्वयनमा ल्याएको जनाएको छ । चेकलाई विस्थापित गर्दै ‘रियल टाईम, रियल एक्स्पेन्डीचर’ भन्ने नारालाई कार्यान्वयनमा ल्याइएको आचार्यले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्