इलाम, बैशाख ४ । वायु प्रदूषणका हिसाबले विश्वमा नेपाल पहिलो स्थानमा आउँदा इलाम नगरपालिका पनि वायु प्रदूषणको जोखिममा रहेको छ ।

इलाममा वायु प्रदूषणसम्बन्धी जनप्रतिनिधि तथा सरोकारवालाहरुसँगको अन्तरक्रिया कार्यक्रममा सो जानकारी दिइएको हो ।

कार्यक्रममा वातावरण संरक्षण मञ्च नेपालका अध्यक्ष हैकम घिसिङले वायु प्रदूषण र यसका मानव स्वास्थ्य तथा वातावरणीय असरहरु, कारणहरु साथै वायु प्रदूषण मापनका लागि तयार गरिएको मापदण्डहरुका बारेमा प्रस्तुतिकरण दिएका थिए । त्यसैगरी इलाम नगरपालिकाकी वन, वातावरण तथा विपद् व्यवस्थापन शाखा प्रमुख लुना खतिवडाले वायु प्रदूषणको न्यूनीकरणका लागि विद्यमान नीतिगत व्यवस्था र आगामी दिनमा इलाम नगरपालिकाले गर्नुपर्ने क्रियाकलापहरुबारे प्रस्तुतिकरण दिएकी थिइन् । कार्यक्रमका सहभागीहरुले इलाम नगरपालिकाभित्र शवदहन गर्दा टायर प्रयोग निषेध गरिनुपर्नेमा जोड दिएका थिए । योजना निर्माण गर्दा विज्ञविना नै हुने गरेकाले समस्या सिर्जना हुने गरेको सामुदायिक कृषि क्याम्पसका प्रमुख योगेन्द्रमान श्रेष्ठले बताए । इलाममा वातावरणका क्षेत्रमा धेरै काम भएता पनि अभिलेखीकरण नभएको तथा तथ्याङ्कमा नरहेको नगरपालिकाका प्रवक्ता नुतनदेव दुलालले बताए । वडा नं. ५ का वडाध्यक्ष काजीबहादुर श्रेष्ठले स्थानीयस्तरका समस्याहरुको सुनुवाई नीति निर्माता तथा माथिल्लो निकायसम्म पुग्नुपर्ने बताए । वातावरण क्षेत्रमा काम गर्ने प्रयास धेरै भएता पनि पर्याप्त स्रोत साधनको अभाव रहेको वडा नं. १० का अध्यक्ष ओमनाथ प्रधानको भनाइ थियो । स्वास्थ्य कार्यालय इलामका प्रमुख आदित्य शाक्यले घरभित्रको वायु प्रदूषण तुलनात्मक रुपमा बढी रहेको बताउँदै सुधारिएको चुलो तथा इन्डक्सन चुलो वितरण र सचेतना कार्यक्रम सञ्चालनमा जोड दिनुपर्नेे बताए । साथै उनले मास्क प्रयोग गर्ने अभियानलाई निरन्तरता दिनुपर्नेमा जोड दिए । कार्यक्रमका प्रमुख अतिथि इलाम नगरपालिकाकी उप–प्रमुख विष्णुकुमारी लिम्बू दाहालले संघीय वन ऐन र नीतिका कारण स्थानीय तहहरुले वातावरण संरक्षण र पर्यावरणको क्षेत्रमा ठोसमूलक काम गर्न नसकेका कारण ऐन संशोधन गर्नुपर्ने आवश्यकता औल्याइन् ।

वातावरण संरक्षण मञ्च नेपालको आयोजना तथा हरित शान्ति अभियान, इलाम नगरपालिका, अमेरिकन कर्नर इलामको सह–आयोजनामा गरिएको सो कार्यक्रम स्वच्छ ऊर्जा नेपाल र अमेरिकी दूतावासको आर्थिक सहयोगमा सम्पन्न भएको थियो ।

इलाम नगरपालिकाकी उप–प्रमुख विष्णुकुमारी लिम्बू दाहालको प्रमुख आतिथ्यता सञ्चालन गरिएको कार्यक्रममा नगरपालिकाका प्रवक्ता तथा ४ नं. वडाका वडाध्यक्ष नुतनदेव दुलाल, वडा नं. १ का वडाध्यक्ष गायत्रीराम बस्नेत, वडा नं. ५ का वडाध्यक्ष काजीबहादुर श्रेष्ठ, वडा नं. ६ का वडाध्यक्ष दुर्गा श्रेष्ठ, वडा नं. ७ का वडाध्यक्ष नरेश श्रेष्ठ, वडा नं. ८ का वडाध्यक्ष दलमान तामाङ र वडा नं. १० का वडाध्यक्ष ओमनाथ प्रधानको विशेष आतिथ्यता रहेको थियो ।
त्यसैगरी नगरपालिकाकी कार्यपालिका सदस्य सरीमाया धमला र धनमाया लिम्बू, स्वास्थ्य कार्यालय इलामका प्रमुख आदित्य शाक्य, पत्रकार महासंघ इलामका अध्यक्ष विप्लव भट्टराई, इलाम सामुदायिक कृषि क्याम्पस प्रमुख डा. योगेन्द्रमान श्रेष्ठ, इलाम नगरपालिकाका पूर्व प्रशासकीय अधिकृत रामकुमार शाह, प्रशासकीय अधिकृत बबुल भक्तराज, हरितनगर महिला समूहकी उपाध्यक्ष सुनिता कर्मचार्य, हरित शान्ति अभियानका सह–सचिव बद्री खड्का, डिभिजन वन कार्यालयका प्रतिनिधि हरि लिम्बू योङहाङलगायतको आतिथ्यता रहेको थियो ।

हरित शान्ति अभियानकी उपाध्यक्ष रिना घिमिरे(घले)को अध्यक्षता सम्पन्न कार्यक्रमको सञ्चालन वातावरण संरक्षण मञ्च नेपालका सह–सचिव सत्यम चौधरीले गरेका थिए । कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै स्वागत मन्तव्य सचिव कुलदीप भेटवालले गरेका थिए । कार्यक्रममा वातावरण संरक्षण मञ्च नेपालकी कोषाध्यक्ष पुजा थापा मगर, सदस्य गीता कार्की , इलाम नगरपालिका प्रतिनिधि टेकबहादुर श्रेष्ठको पनि सहभागिता रहेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्