बिर्तामोड , बैशाख ६ । बिर्तामोडमा ३ करोडको लागतमा गुरुङ जातिको संग्रहालय बन्ने भएको छ ।

गुरुङ जातिको पहिचान हराउन नदिनका लागि बिर्तामोड ३ स्थित बुद्धनगरमा गुरुङ जातिको मौलिक भेषभूषा , प्राचीन सरसामान संग्रहित गर्ने उद्धेश्यले संग्रहालय निर्माण गरिने भएको हो । तमु ह्युल छोंज धीं गुरुङ समाजद्वारा निर्माण गरिने संग्रहालयको आज बिहान बिर्तामोड नगरपालिकाका नगरप्रमुख पवित्रा महतारा प्रसाईले शिलान्यास गरिन् । तीन तलाको बन्ने भवनमा भुइँतलामा सभाहल , पहिलो तलामा कार्यालय र बैठक कक्ष तथा माथिल्लो तलामा संग्रहालय रहने निर्माण समितिका अध्यक्ष कुमार गुरुङले बताए । उनको अध्यक्षतामा ९ सदस्यीय संग्रहालय निर्माण समिति बनाइएको छ । तमु ह्युल छोंज धीं नगर समितिको आफ्नै दुई कठ्ठा जग्गामा सो संग्रहालय बन्ने भएको हो । संग्रहालय निर्माणका लागि बिर्तामोड नगरपालिकाले १५ लाख रुपैयाँ बजेट छुट्याएको छ । अन्य बजेट दाता महानुभावहरुबाट संकलन गरिने अध्यक्ष गुरुङले बताए ।

निर्माण समितिका अध्यक्ष कुमार गुरुङको अध्यक्षतामा भएको शिलान्यास कार्यक्रममा बिर्तामोड ३ का वडाध्यक्ष मदन बुढाथोकी , नेपाली कांग्रेसका नगर सभापति भोजराज सिटौला , एमालेका नगर अध्यक्ष सुवास भट्टराई , तमु ह्युल छोंज धींका केन्द्रीय सल्लाहकार जलकुमार गुरुङलगायतले बोलेका थिए । तमु ह्युल छोंज धींका केन्द्रीय सदस्य आनन्द गुरुङले स्वागत गरेको कार्यक्रमको संचालन तमु ह्युल छोंज धींका बिर्तामोड नगर सचिव तथा निर्माण समितिका सचिव लीला गुरुङले गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्