झापा , बैशाख ७ । चियाको राजधानी उपमा पाएको सूर्योदय नगरपालिकामा ५० हजार गुणस्तरहीन तयारी चिया नष्ट गरिएको छ।

समाल भ्याली टि स्टेट प्रा .लि .सूर्योदय नगरपालिका-५ ले तयारी चिया उपयोग योग्य नभएकाले खाडलमा पुरेर नष्ट गरिदिएको हो। सूर्योदय नगरपालिका चियाको गुणस्तर सुधार गर्दै चियाको अन्तर्राष्ट्रिय बजार उच्च बनाउन लागिपरेकाले गुणस्तरहीन चिया बिक्री वितरण भएको खण्डमा अन्य चिया व्यवसायीसमेत मर्कामा पर्ने भएकाले नष्ट गरिएको चिया समस्या समाधान समितिका संंयोजक तथा वडा- १० का वडा अध्यक्ष पेमा उगेन लामाले जानकारी दिए । ग्रेडिङ गर्दा सिन्का र डष्ट अन्तिम अवस्थाको चिया रुपमा कारखानाबाट आउने गर्दछ। कारखानाले प्याकेजिङ गरेर बिक्री वितरण गर्दा अन्तर्राष्ट्रिय बजार र मानव स्वास्थ्यमा समेत असर पुग्ने भएकाले नष्ट गर्ने अभियान चलाएको लामाले जानकारी दिए।

‘उद्योगमा जति धेरै राम्रो मापदण्ड पुगेको गुणस्तरीय हरियो पति आयो त्यति नै कम सिन्का डाँठ उत्पादन हुन्छ त्यसैले यस्ता कम गुणस्तरको चिया उत्पादन घटाउँदै नेपालको चियाको चिया टिपाईमा पनि व्यापक सुधार ल्याउनु पर्छ’, लामाले भने। नगरपालिकाको अनुगमन समितिले अनुगमन गर्दा कारखानाले मुना नभई चिया प्रशोधन गर्दा आउने डष्ट तथा सिन्का डाठँको तयारी चिया उत्पादन र खरिद समेत गरेर बिक्री गर्न तयारी अवस्थामा राखेको पाइएपछि नियन्त्रणमा लिएर नष्ट गरेको उपप्रमुख दुर्गा बरालले बताए । उपप्रमुख बरालले सूर्योदय नरगपालिकाले चिया क्षेत्रमा देखिएको समस्या समाधान गर्नको लागि हरसम्भव सबैसंग मिलेर सहकार्य गरिरहेको बताए। उनले कारखाना अनुगमनमा जाने क्रममा गुणस्तरहीन चिया पाइएको खण्डमा तुरुन्त नगरप्रहरी खटाएर चिया नियन्त्रणमा लिँदै सरोकारवालाहरूको रोहबरमा नष्ट गरिएको बताए। बरालले सबै कारखानामा कडाईका साथ निगरानी र अनुगमन गर्ने जानकारी दिए।

नेपाल सरकारले तोकेको परिधि क्रुड फाईबर १५ प्रतिशत हुनु पर्ने र टोटल भष्म ५ देखि ८ प्रतिशत हुनुपर्ने मापदण्ड रहेको छ। मापदण्डभन्दा बढी भएको चिया मानव स्वास्थ्यको लागि पूणर् रुपमा हानिकारक हुने चिया बिस्तार योजना फिक्कलका नविन कोइरालाले बताए। चिया प्रशोधन गर्दा निस्किएको सिन्का डष्ट आदि चिया खान नमिल्ने चिया वितरणको लागि तयारी गरिनु गलत भएको उनको भनाइ छ। आफनो कारखानाको मात्र नभई नगरका अरू कारखानाबाट पनि प्रतिकेजी २५ मा खरिद गरेको जानकारी दिदै समाल भ्याली टि स्टेटका मेनेजर अमन जैसवालले पहिला पहिला भारत लगायतका बजारमा आफूहरूले यस्तो प्रकारको चिया बिक्री गरेको कारण पनि यसपटक पनि प्याकेजिङ गरेको बताए। नगरपालिकाले यस्तो चिया बिक्री गर्न नहुने भनेपछि नगरकै रोहबरमा नष्ट गर्ने काम गरेको उनले बताए। मेनेजर जैसवालले आफूहरूबाट गल्ति भएको स्वीकार गर्दै अब अरू कारखानाबाट खरिद पनि नगर्ने र आगामी दिनमा यस्तो काम पनि नगर्ने प्रतिवद्धता जाहेर गरे।

उनले नष्ट गरिएको चिया १५ लाख बराबरको भएपनि प्याकेजिङ गर्दा ठूलो रकम खर्च भएको बताए। उनले भारतीय बजारमा बिक्री हुने भएकोले आफूहरूले अरू कारखानाबाट पनि चिया खरिद गरेको जानकारी दिए। सूर्योदय टि एसोसिएशनका अध्यक्ष उत्तमकुमार श्रेष्ठले यो कार्य जसले गरे पनि गलत भएको बताए। उनले मलखादको रुपमा प्रयोग गर्न सकिने तर खानाको लागि प्रयोग गर्न नसकिने चिया कारखानाले शुद्ध नेपालको नाममा बिक्री गर्नु गलत भएको बताए। सूर्योदय नगरपालिकाको नगर प्रमुख रणबहादुर राई निर्वाचित भएर आएपछि चिया क्षेत्रको विवाद बल्झिँदै आएको छ। नगर प्रमुखको सक्रियतामा २०७५ सालमा हरियो चिया पतिको न्यूनतम् समर्थन मूल्य ४० तोकिएपछि किसान र उद्योगीहरू आन्दोलित भएका थिए। राई दोश्रो कार्यकालको लागि नगर प्रमुख निर्वाचित भएर आएपछि पनि चियाको मूल्यमा समय अनुकूल परिमार्जन हुन सकेको छैन। चिया क्षेत्रमा पटक पटक विवाद निम्तिएपछि नगरले गत माघमा चिया समस्या समाधान समिति गठन गरेको छ। सरोकारवालासंग व्यापक छलफल परामर्श र सुझाव लिएर चियाको समस्या समाधान गर्ने र नगरको चियाको गुणस्तर उच्च राख्ने योजनाका साथ समिति गठन गरिएको नगर प्रमुख राईले बताए । नगरमा बनेको कार्यविधि पालना नभएको गुनासो अहिले पनि व्यापक रुपमा आउने गरेको छ। वडा नं ५ का वडा अध्यक्ष उर्गेन बम्जनले डस्ट सिन्कालगायत खाने चियाकै रुपमा बिक्री गर्ने गरेको आफूले पहिलो पल्ट सुनेको बताउँदै चियाले कतै अवार्ड पाउँदै गरेको अवस्थामा यस्तो गुणस्तरहीन चिया बजारमा जाँदा नेपालको चिया बजार संकटमा पर्ने खतरा रहेको बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्