झापा , बैशाख ८ । विश्वकै ठूलो प्रविधि कम्पनीमध्येको गुगल एलएलसी (लिमिटेड लायबिलिटी कम्पनी) नेपालको कर प्रणालीमा दर्ता भएको छ ।

आन्तरिक राजस्व विभागअन्तर्गतको ठूला करदाता कार्यालयमा गुगल दर्ता भएको हो। सरकारले चालु आर्थिक वर्ष २०७९/८० को आर्थिक ऐनबाट व्यवस्था गरेको विद्युतीय सेवा कर तिर्ने गरी गुगल दर्ता भएको विभागका प्रवक्ता राजुप्रसाद प्याकुरेलले जानकारी दिए । “गुगलले नेपालमा उपलब्ध गराउने विभिन्न सेवा र उत्पादनको विद्युतीय सेवा करअनुसार नै कर तिर्ने गरी दर्ता भएको छ,” उनले बताए । विभागका अनुसार सिङ्गापुरस्थित क्षेत्रीय कार्यालयका नाममा गुगल दर्ता भएको हो । विद्युतीय सेवा करको प्रशासन हेर्ने गरी विभागले ललितपुरको हरिहरभवनस्थित ठूला करदाता कार्यालयलाई जिम्मेवारी तोकेको छ। सरकारले चालु आर्थिक वर्ष २०७९/८० देखि गैरबासिन्दा व्यक्तिले नेपालका उपभोक्तलाई उपलब्ध गराएको विद्युतीय सेवाको कारोबार मूल्यमा दुई प्रतिशतका दरले विद्युतीय सेवा कर लागू गरेको छ । यसअनुसार गुगलले नेपालका उपभोक्तालाई सेवा प्रदान गरेर आर्जन गरेको कुल आम्दानीको दुई प्रतिशत रकम अबदेखि नेपालमा बुझाउनुपर्नेछ । यद्यपि गुगलले नेपालबाट गर्ने वार्षिक आम्दानीको सरकारसँग आधिकारिक तथ्याङ्क भने छैन । ‘सर्च इन्जिन जायन्ट’का रूपमा चर्चिच गुगलका युट्युब र एन्ड्रोइड अपरेटिङ सिस्टम नेपालमा लोकप्रिय छन् । यसबाहेक गुगलले वेब ब्राउजिङ, क्लाउड कम्प्युटिङ, जिमेल, म्याप्स, फोटोज्लगायतका सेवा पनि उपलब्ध गराइरहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्