कुमरखोद , बैशाख ८ । झापा गाउँपालिकाले आफ्ना पालिकाभित्र अध्ययनरत कक्षा ११ र १२ का ६३६ जना विद्यार्थीहरुलाई शुक्रवार छात्रवृत्ति वितरण गरेको छ ।

पालिकाले छात्रवृत्तिस्वरुप कक्षा ११ का विद्यार्थीलाई जनही ९ हजार २५० ,कक्षा १२ का विद्यार्थीलाई जनही ११ हजार २५० र प्राविधिक शिक्षाका विद्यार्थीलाई जनही १२ हजार रुपैयाँका दरले वितरण गरेको गाउँपालिका अध्यक्ष जयनारायण शाहले बताए ।

झापा गाउँपालिकाका ३ वटा सामुदायिक विद्यालयमा कक्षा ११ र १२ को पठनपाठन हुने गरेको छ । डिल्लीराज माध्यमिक विद्यालयमा कक्षा ११ मा २१२ र कक्षा १२ मा १६३ जना गरी जम्मा ३७५ जना विद्यार्थी अध्ययनरत छन् । त्यसैगरी जनता माध्यमिक विद्यालयमा कक्षा ११ मा १३२ र कक्षा १२ मा १०९ जना गरी २३७ जना अध्ययनरत छन् भने जनकल्याण माध्यमिक विद्यालयमा कक्षा ११ मा २४ जना विद्यार्थी अध्ययरत रहेको शिक्षा शाखा प्रमुख जीवनप्रसाद ढकालले बताए ।

झापा गाउँपालिकाले विगत २०७५ सालदेखि सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गर्दै आएको गाउँपालिका अध्यक्ष शाहले बताए । अध्यक्ष शाहले झापा गाउँपालिकाभित्र रहेका सामुदायिक विद्यालयमा अध्ययनरत अधिकांश विद्यार्थी विपन्न वर्गका भएकाले रकम अभावका कारण कुनै पनि विद्यार्थी विद्यालय जानबाट वञ्चित हुन नपरोस् भनेर छात्रवृत्ति वितरण गरेको बताए । अध्यक्ष शाहले झापा गाउँपालिकामा कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरुलाई अब पालिकाभित्रै रहेको कुवाडी देवी माध्यमिक विद्यालयमा परीक्षा दिने व्यवस्था मिलाएको जानकारी दिए ।
गाउँपालिका शिक्षा शाखा प्रमुख ढकालले शैक्षिक पहुँचमा अभिवृद्धि गर्ने उद्धेश्यले गाउँपालिकाले छात्रवृत्ति वितरण गरेको बताउँदै विद्यार्थी भर्नालाई टिकाई राख्न र विद्यार्थीको शैक्षिक गुणस्तर समेत अभिवृद्धि हुने विश्वास व्यक्त गरे । त्यसैगरी डिल्लीराज माध्यमिक विद्यालयका प्रधानाध्यापक विरेन्द्रप्रसाद गुप्ताले शैक्षिक गुणस्तर सुधारका लागि झापा गाउँपालिकाले उत्कृष्ट काम गर्दै आएको र यसको नतिजा विद्यार्थीले केही वर्षमै देखाउने धारणा राखे ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्