झापा, बैशाख १० । प्रतिनिधिसभा सदस्यका लागि बारा–२, चितवन–२ र तनहुँ–१ मा आइतबार शान्तिपूर्ण र उत्साहजनकरुपमा उपनिर्वाचन भएको छ ।

निर्वाचन आयोगले तीनवटै क्षेत्रमा शान्तिपूर्ण र उत्साहजनकरुपमा मतदान सम्पन्न भएको जनाएको छ । आयोगको प्रारम्भिक विवरणअनुसार तीनवटै क्षेत्रमा औषतमा ६० प्रतिशत मतदान भएको छ । यद्यपि मतदानको विवरण भने आयोगको सूचना प्रणालीमा प्रविष्टि हुनेक्रममा रहेको आयोगले जनाएको छ ।

आयोगका अनुसार बारा–२ मा ६४ प्रतिशत, चितवन–२ मा ६३ प्रतिशत र तनहुँ–१ मा ५३ प्रतिशत मतदान भएको छ । आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले मतदान सम्पन्न भएका सबै मतदानस्थलबाट साँझदेखि नै मतपेटिका संकलन कार्य भइरहेको जानकारी दिए ।
स्थानीय प्रशासन र मुख्य निर्वाचन अधिकृतको कार्यालयले मतगणनाको तयारी समेत गरिसकेका छन् ।

आयोगका अनुसार बारा–२ मा शिक्षा तालिम केन्द्र, कलैया, चितवन–२ मा उद्योग वाणिज्य संघको हल, भरतपुर र तनहुँ–१ मा जिल्ला समन्वय समिति परिसर, दमौलीमा मतपेटिका संकलन भएपछि मतगणना गर्ने तयारी छ । बारामा साँझ ८ बजेसम्म मतपेटिका संकलन भइसक्ने अनुमान छ भने चितवनमा १० र तनहुँमा राति ११ बजेभित्र मतपेटिका संकलन भइसक्ने अनुमान छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्