बिर्तामोड, बैशाख १० । मोरङको मिक्लाजुङ गाउँपालिका बिर्तामोडमा जारी प्रथम प्रदेशस्तरीय महिला गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

बिर्तामोड–१० स्थित महेन्द्र ज्योति मा.वि.को खेलमैदानमा आइतवार भएको खेलमा महमाई एकता क्लब इलामलाई १ –० गोल अन्तरले पराजित गर्दै मिक्लाजुङ गा.पा.को टिम सेमिफाइनलमा प्रवेश गरेको हो ।

बिर्तामोड–१० स्थित सैनिकबजारको ‘अल इन वान’ क्लबको आयोजनामा भइरहेको प्रतियोगितामा मिक्लाजुङका लागि पूर्णिमा राईले खेलको ८ औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो ।

विपक्षी खेलाडीले डि–एरियाभित्र मिक्लाजुङकी खेलाडी सम्झना बेघालाई लडाएपछि पाएको पेनाल्टीको अवसरलाई सदुपयोग गर्दै उनले टिमका लागि निर्णायक गोल गरेकी थिइन् ।

खेल अवधिभर दवावमा परेको महमाईले भने गोल गर्न सकेन । मिक्लाजुङले पाएको पेनाल्टी उसका लागि दुर्भाग्य बन्यो ।

उत्कृष्ट खेल प्रदर्शन गरेको मिक्लाजुङले गोल गर्ने थुप्रै अवसर पाए पनि महमाईकी गोलरक्षक पवित्रा लिम्बूले विफल पारिदिइन् ।

खेलमा उत्कृष्ट प्रदर्शन गरेकी महमाईकी गोलरक्षक लिम्बू ‘प्लेयर्स अफ द म्याच’ घोषित भइन् । उनले नगद ३ हजार पुरस्कार पाईन् । उनलाई बिर्तामोड–१० का वडाध्यक्ष दुर्योधन गुरुङले पुरस्कार प्रदान गरे ।
१६ गतेसम्म संचालन हुने प्रतियोगिताको विजेताले नगद २ लाख २ हजार र उपविजेताले १ लाख १ हजार रुपैंयाँ पुरस्कार पाउने आयोजक संस्था ‘अल इन वान’ क्लबका अध्यक्ष कृष्ण योञ्जनले जानकारी दिए ।

प्रतियोगितामा सोमबार नमोबुद्ध युवा क्लब सप्तरी र ताप्लेजुङ महिला फुटबल क्लबबीच प्रतिस्पर्धा हुने छ । झापा जिल्ला फुटबल संघको प्राविधिक सहयोग रहेको प्रतियोगितामा झापा, इलाम, ताप्लेजुङ, सुनसरी, मोरङ, धनकुटा, उदयपुर र सप्तरीका ८ वटा टिमको सहभागिता रहेको आयोजकले बताएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्