झापा, बैशाख १२ । झापामा विदेशबाट आएका ६ जनामा औलो रोगको संक्रमण देखिएको छ ।

औलो रोगी भएका झापाका पालिकाहरु

२०७९ साउनयता औलोबाट संक्रमित हुने सबै ६ जना विदेशबाट आएका हुन् । झापामा मेचीनगर र कचनकवलमा दुई–दुई जना तथा बुद्धशान्ति र दमकमा एक–एक जना औलो रोगी फेला परेका छन् । केही दिनअघि युगान्डाबाट फर्केका बुद्धशान्ति २ जयपुरका ३० वर्षिय पुरुषमा औलो पुष्टि भएको थियो । बिर्तासिटी हस्पिटल बिर्तामोडमा परीक्षण गराउँदा बैशाख ७ गते उनलाई औलो पुष्टि भएको बिर्तामोड नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख राजीव विष्टले बताए । उनी २०२२ फेब्रुअरी १३ मा युगान्डा गएका थिए भने २०२३ अप्रिल ५ मा नेपाल फर्केका थिए । त्यस्तै दिल्ली , सुडान , तेलिभिट्टा बिहार , किसनगञ्ज बिहार र मुम्बई महाराष्ट्रबाट फर्केका ५ जनालाई औलो संक्रमण देखिएको स्वास्थ्य कार्यालय झापाका प्रमुख रमेश बाराकोटीले बताए ।

औलो रोगीको तथ्यांक

आर्थिक वर्ष २०७८–०७९ मा कोशी प्रदेशका ७ सहित नेपालभर ४९१ जना औलो रोगी फेला परेका थिए । जबकि चालू आर्थिक वर्षको करिव १० महिनामै झापामा मात्र ६ जना औलो रोगी फेला परिसकेका छन् । यसबाट झापामा औलो रोगको प्रकोप बढेको देखिएको छ । औलो रोगको निदान तथा उपचारका लागि सरकारी स्वास्थ्य संस्थाहरुमा औलोको परीक्षण तथा उपचार निःशुल्क उपलब्ध रहेको छ ।हरेक औलो बिरामी तथा जोखिम क्षेत्रको १, ३, ७ पद्दति अनुसार खोजपड्ताल गर्ने ,जोखिम क्षेत्रहरुमा नियमित रुपमा औलो बिरामीको सक्रिय खोजपड्ताल गर्ने गरिएको बाराकोटीले बताए । उनका अनुसार रोकथाम तथा नियन्त्रणका लागि आवश्यकता अनुसार कीट्नाशक बिषादी छर्ने गरिएको छ ।

नेपालमा औलो रोगी

त्यस्तै जोखिम क्षेत्रको घर–घरमा गई समुदाय परिचालक तथा मोबाईल टिममार्फत स्क्रिनिङ तथा परीक्षण गर्ने ,स्थलमार्गमा रहेका नाकाहरुमा स्क्रिनिङ तथा परीक्षण गर्ने ,निजी, सरकारी तथा बहु निकायहरुलाई कार्यक्रम सम्बन्धमा तालिम तथा अभिमुखीकरण गर्ने गरिएको उनले जानकारी दिए ।स्वास्थ्य संस्थामा औलोको लागि रक्त परीक्षण ज्यादै कम हुनु,ठुला सरकारी अस्पताल र निजी अस्पतालको परीक्षण रिपोर्ट स्वास्थ्य सूचना प्रणालीमा समाबिष्ट नहुनु ,औलो निवारण कार्यक्रमका लागि माग भएबमोजिम पर्याप्त आर्थिक स्रोतको अभाव रहनु ,प्रदेश तथा स्थानीय तहमा औलोसम्बन्धी तालिम प्राप्त स्वास्थ्यकर्मी र ईन्टोमोलोजिष्टहरुको अभाव हुनु ,औलो परीक्षण स्वास्थ्यकर्मीहरुको प्राथमिकता नपर्नु र स्वास्थ्यकर्मीको छिटो छिटो सरुवा भैरहनुजस्ता चुनौतीहरु औलो रोग नियन्त्रणमा देखिएको कार्यालय प्रमुख बाराकोटीले जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्