एजेन्सी । अप्रिल २० मा हजारौँ अकाउन्टहरूको ब्लू टिक हटाएको ट्विटरले बढी फलोअर भएका अकाउन्टहरूलाई पैसा नतिरे पनि पुनः टिकमार्क उपलब्ध गराएको छ ।

अमेरिकी उद्यमी एलन मस्कले ४४ अर्ब डलरकमा कम्पनी किनेपछि ट्विटरले भेरिफिकेसनको ब्लू टिक पाउन शुल्क तोकेको थियो । विश्व विख्यात सेलीब्रेटी एवं लोकप्रिय व्यक्तित्वहरूको अकाउन्टको ब्लू टिक ट्विटरले अप्रिल २० मा हटाएको थियो । तर, निकै थोरै मान्छेहरूले यसका लागि पैसा तिरिरहेका छन् । विवाद र सेलीब्रेटीहरूको टिक मार्क हटेको विषयले चर्चा पाएका बेला फेरि करिब १० लाख भन्दा बढी फ्लोअर भएका निकै धेरै प्रयोगकर्ताहरूले पैसा नतिरे पनि ब्लू टिक पाएको भन्दै ट्विट गरेका छन् । लेखक नील गैमन, फुटबलर रियाद महारेज, संगीतकार लिल नास एक्स, अभिनेत्री जेनेल पेरिस लङ र बेलायती टीभी प्रस्तोता रिचर्ड ओस्मानलगायत धेरैले पैसा नतिरेरै ब्लू टिकमार्क प्राप्त गरेको बताएका छन्। मस्क आफैँले लेब्रोन जेम्स, स्टिफन किङ र विलियम शान्तनर जस्ता केही व्यक्तिहरूको अकाउन्टका लागि ब्लू टिकको शुल्क तिररहेको भनेका छन् । तर, अहिले बढी संख्यामा धेरै अकाउन्टहरूले ब्लू टिक फिर्ता पाउँदा मस्कले अब कस्तो चाल खेल्छन् भन्नेतर्फ मानिसहरूको ध्यान जान थालेको छ । यसअघि उनले करिब १० हजार ब्रान्ड एवं कम्पनीहरूलाई निःशुल्करूपमा ब्लू टिकमार्क उपलब्ध गराउने भनेका थिए । यस्तो कुनै निणर्य उनले व्यक्तिगत अकाउन्टका हकमा पनि गर्न सक्छन् कि भन्ने आंकलन हुन थालेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्