झापा, बैशाख १३ । प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा बारा–२ बाट जनता समाजवादी पार्टीका अध्यक्षसमेत रहेका उपेन्द्र यादव विजयी भएका छन् ।

यादवले निकटतम् प्रतिस्पर्धी जनमत पार्टीका उम्मेदवार शिवचन्द्रप्रसाद कुशवाहालाई ५ हजार ८१ मतले पराजित गरेका हुन् ।

जिल्ला निर्वाचन कार्यालय बाराका प्रमुख सरोजकुमार चौधरीका अनुसार विजयी उम्मेदवार यादवले २८ हजार ४ सय १५ मत पाउँदा कुशवाहाले २३ हजार ३ सय ३४ मत पाए । त्यस्तै तेस्रो स्थानमा रहेका एमालेका पुरुषोत्तम पौडेलले १० हजार २ सय १६ मत प्राप्त गरेका छन् ।
पूर्वडीआईजीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेल भने प्रतिस्पर्धामा पछि रहे । उनले २ हजार ८ सय २९ मत मात्र प्राप्त गरेका छन् । उनीपछि रहेका आम जनता पार्टीका उम्मेदवार अरुणकुमार ज्ञवालीले २ हजार ७ सय ३८ मत प्राप्त गरेका छन् ।

त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार सोनालाल साहले ११९ मत प्राप्त गरे । नागरिक उन्मुक्ति पार्टीका कमरुल्लाह अन्सारीले १ सय ९ मत पाउँदा नेपाल मजदुर किसान पार्टीका उम्मेदवार मुक्ति यादवको पोल्टामा ६० मात्रै मत प¥यो ।
बारा–२ मा कुल ६९ हजार १ सय ७ मत खसेको थियो ।बारा–२ मा मुख्य प्रतिस्पर्धामा रहेका ५ उम्मेदवारमध्ये ४ जना यसअघि मंसिर ४ मा पराजित उम्मेदवार हुन् । उपेन्द्र यादव सप्तरी–२ मा जनमत पार्टीका अध्यक्ष सीके राउतसँग पराजित भएका थिए ।

शिवचन्द्र प्रसाद कुशवाहा र अरुणकुमार ज्ञवाली बारा–२ बाट पराजित उम्मेदवार हुन् । त्यस्तै रमेश खरेल भने काठमाडौं–१ मा पराजित भएका थिए । कुशवाहा मंसिर ४ मा माओवादी केन्द्र र ज्ञवाली स्वतन्त्र उम्मेदवार बनेका थिए । खरेल भने नेपाल सुशासन पार्टीबाट उठेका थिए । उनी अहिले पनि उक्त पार्टीका अध्यक्ष हुन् ।

यसअघि बारा–२ का प्रतिनिधिसभा सदस्य रामसहायप्रसाद यादव उपराष्ट्रपति निर्वाचित भएपछि त्यस क्षेत्रमा उपनिर्वाचन भएको हो । मंसिर ४ को निर्वाचनमा यादवले कुशवाहालाई ३ सय ५४ मतले हराएका थिए । यादव १३ हजार ८ सय २२ मत ल्याएर विजयी भएका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्