बिर्तामोड, बैशाख १३ । आयोजक अल इन वान क्लब प्रदेशस्तरीय महिला गोल्डकप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

बुधवार भएको प्रतियोगिताको पहिलो सेमिफाइनलमा मिक्लाजुङ गाउँपालिका मोरङलाई ५–१ गोल अन्तरले पराजित गर्दै आयोजक अल इन वान फाइनलमा प्रवेश गरेको हो ।
बिर्तामोड–१० सैनिकबजारस्थित महेन्द्र ज्योति माविको खेलमैदानमा भएको खेलमा आयोजकलाई जित दिलाउन २१ औं मिनेटमा लक्ष्मी श्रेष्ठ पहिलो गोल गरिन् । त्यस्तै २८ औं र ४८ औ मिनेटमा सविता मगरले थप २ गोल गरिन् ।
त्यस्तै आयोजकका लागि अनिता लम्जेलले खेलको ५३ औ मिनेटमा चौथो गोल गरिन् । उसका लागि ५ औं गोल खेलको इन्जुरी समयमा मेनुका मगरले गरेकी थिइन् ।
खेलमा मोरङले एक गोल फर्काएको थियो । उसका लागि ४९ औं मिनेटमा बिष्णु सम्वाहाम्फेले एक गोल गरिन् ।
बुधवारको खेलमा आयोजककी सविता मगर ‘प्लेयर्स अफ द म्याच’ घोषित भइन् । उनले नगद ३ हजार पुरस्कार पाइन् ।
प्रतियोगितामा बिहीबार नमोबुद्ध युवा क्लब सप्तरी र गाईघाट फुटबल क्लब उदयपुरबीच दोस्रो सेमिफाइनल खेल हुने छ ।
बिहीबारको खेलको विजेतासंग आयोजक अल इन वानले १६ गते शनिबार फाइनलमा उपाधिका लागि प्रतिस्पर्धा गर्ने छ ।
बिर्तामोडको अल इन वान क्लबको आयोजनामा भईरहेको प्रतियोगिताको विजेताले नगद २ लाख २ हजार र उपविजेताले १ लाख १ हजार रुपैंयाँ पुरस्कार पाउने छ ।



