झापा, बैशाख १४ । किर्ते नक्कली लालपुर्जा तयार पारी रकम ठगी गर्ने गिरोहका एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मेचीनगर नगरपालिका वडा नं. ६ बस्ने ७३ वर्षिय ज्ञानबहादुर गिरी रहेका छन् ।

मेचीनगर नगरपालिका वडा नं. ६ मेचीडाँडामा रहेको ऐलानी जग्गाको लालपुर्जा उपलव्ध गराइदिने भनी मेचीनगर नगरपालिका वडा नं. ६ बस्ने ७५ वर्षिय भुपध्वज दाहाल , सोही ठाउँका ७३ वर्षिय ज्ञानबहादुर गिरीलगायतले विभिन्न मितिमा निवेदकहरूसँग १० हजारदेखि ७० हजारसम्म रकम असुल गरेका थिए । उनीहरुले निवेदकहरूको फोटो टाँसिएको रातो मसीले सहीछाप समेत गरी नक्कली जग्गा धनी दर्ता प्रमाण पुर्जा तयार पारी दिएका थिए । पछि नक्कली भएको थाहा पाएपछि पीडितहरुले उनीहरुमाथि आवश्यक कार्वाहीका लागि जिल्ला प्रशासन कार्यालय झापामा निवेदन दिएका थिए ।

ईलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट प्रहरी टोली खटी गई मंगलवार गिरीलाई पक्राउ गरेको हो । गिरीलाई झापा जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भईरहेको र ठगीमा संलग्न भुपध्वज दाहाल फरार रहेकाले खोजतलास भईरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी खगेन्द्र रिजालले बताए । उनले
७ जना पीडित व्यक्तिहरु सम्पर्कमा आइसकेको बताउँदै निवेदन आउने क्रम जारी रहेको जानकारी दिए । अझै ५०–६० जना पीडित रहेको हुन सक्ने बताइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्