झापा, बैशाख १४ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमाथि आक्रमणको प्रयास गर्दै प्रहरीमाथि ढुंगा प्रहार गर्ने दुई आन्दोलनकारीलाई मुद्धा दायर गरिएको छ ।

हिजो झापाको बुद्धशान्ति गाउँपालिकामा आयोजित एमाले अध्यक्ष ओलीको कार्यक्रममा कोशी प्रदेश नामकरणको विरुद्धमा आन्दोलित पहिचानवादीहरुले आक्रमण गर्ने प्रयास गरेका थिए । एमाले अध्यक्ष ओली बुद्धशान्ति गाउँपालिकामा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा सहभागी हुन जाँदै गर्दा कार्यक्रमस्थल नजिकै पहिचानवादीहरूले उनलाई कालोझन्डा देखाउँदै चर्का नाराबाजी गरेका थिए। उनीहरूले ओली सवार गाडीसमेत सडकमै रोक्न खोजेका थिए। एमाले अध्यक्ष ओलीलाई आक्रमण गर्न खोज्ने पहिचानवादीहरुले हानेको ढुंगा लागेर इलाका प्रहरी कार्यालय धुलावारीका प्रहरी निरीक्षक अनिल मावोहाङसहित दुई प्रहरी घाइते भएका थिए ।
प्रहरी निरीक्षक मावोहाङ र सहायक हवल्दार सोमित राजवंशी घाइते भएका हुन् । दुवैको बिर्तामोडस्थित विएण्डसी अस्पतालमा उपचार भइरहेको छ ।

प्रहरी निरीक्षक माबोहाङको टाउको फुटेको र प्रहरी सहायक हवल्दार राजवंशीको गालाको हड्डी भाँचिएको जनाइएको छ । प्रहरीले घटनामा संलग्न दुईजनालाई पक्राउ गरेको थियो । हिजो पक्राउ परेका मित्र लिङ्देन, पुरन राई (बुलेट किराती) र बलिहाङ मावोमाथि मुद्धा दायर गरिएको हो । वारदातको प्रकृति हेर्दा उनीहरुमाथि ज्यान मार्ने उद्योगसम्बन्धी मुद्धा दायर गर्नुपर्ने देखिएकोमा आन्दोलनकारीहरुले शान्तिपूर्ण आन्दोलन गर्ने बताएपछि लिङ्देन र राईमाथि अभद्र व्यवहारसम्बन्धी मुद्धा दायर गरिएको प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले बताए । पक्राउ परेकाहरुलाई रिहाई गर्न आन्दोलनकारीहरुले हिजोदेखि माग गर्दै आएका छन् । उनीहरुले आज दिउँसो जिल्ला प्रशासन कार्यालयमा गएर रिहाई गर्न माग गर्दै नत्र थप आन्दोलनको कार्यक्रम गर्ने चेतावनी दिएका थिए । एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री ओलीमाथि आक्रमणको प्रयास गर्दै प्रहरीलाई घाइते बनाउनेहरुलाई कडा कानुनी कार्वाही गर्नुपर्ने राजनीतिक दलहरुले झापाको प्रहरी प्रशासनलाई दवाव दिएका छन् ।

हिजो प्रतिनिधिसभा बैठकमा बोल्दै उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले एमाले अध्यक्ष ओलीमाथि अभद्र व्यवहार प्रदर्शन गर्नेलाई प्रहरीले नियन्त्रणमा लिएको बताएका थिए । उनले अराजक गतिविधि गर्नेहरुलाई सरकारले छुट दिन नसक्ने बताएका थिए । प्रहरीले बल प्रयोग नगरी अगाडि बढ्न खोजेकालाई रोक्न खोज्दा आन्दोलनकारीहरुले ढुंगा प्रहार गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी खगेन्द्र रिजालले बताए । आन्दोलनका नाममा आन्दोलनकारीहरुले आपराधिक गतिविधि गरेको उनको भनाई छ । ओलीलाई विरोध गर्न बुद्धशान्तिमा करिव तीन सयको संख्यामा पहिचानवादीहरु भेला भएका थिए ।कार्यक्रमस्थल बाहिर तनावग्रस्त बनेपनि एमाले अध्यक्ष ओली कार्यक्रमलाई सम्बोधन गरी इलामतर्फ लागेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्