झापा, बैशाख १४ । नमोबुद्ध युवा क्लब सप्तरी झापामा जारी प्रदेशस्तरीय महिला गोल्डकप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

बिर्तामोड–१० सैनिकबजारस्थित महेन्द्र ज्योति माविको खेलमैदानमा बिहीवार भएको दोस्रो सेमिफाइनल खेलमा गाईघाट फुटबल क्लब उदयपुरलाई २–० गोल अन्तरले पराजित गर्दै सप्तरी फाइनलमा प्रवेश गरेको हो ।
सप्तरीलाई फाइनल प्रवेश गराउन खेलको १५ औं मिनेटमा राष्ट्रिय टिमकी सदस्य समेत रहेकी निकिता थोकरले पहिलो गोल गरिन् । त्यसपछि खेलको ५६ औं मिनेटमा राष्ट्रिय टिमकी सदस्य रश्मि घिसिङले गोल गर्दै टिमलाई २–० गोल अन्तरको जित दिलाइन् ।
घिसिङ ‘प्लेयर्स अफ दी म्याच’ घोषित भइन् । उनले नगद ३ हजार पुरस्कार पाईन् । उनलाई राष्ट्रिय फुटबल टोलीका सहायक प्रशिक्षक प्रवेश कटुवालले पुरस्कार प्रदान गरे ।
नमोबुद्ध सप्तरीले अब उपाधिका लागि अल इन वान क्लब बिर्तामोडसंग प्रतिस्पर्धा गर्ने छ । यसअघि बुधबार भएको पहिलो सेमिफाइनलमा मिक्लाजुङ गाउँपालिका मोरङलाई ५–१ गोल अन्तरले पराजित गर्दै आयोजक फाइनलमा प्रवेश गरेको थियो ।
बिर्तामोडको अल इन वान क्लबको आयोजनामा भईरहेको प्रतियोगिताको विजेताले नगद २ लाख २ हजार र उपविजेताले १ लाख १ हजार रुपैंयाँ पुरस्कार पाउने छ ।
प्रतियोगिताको फाइनल खेल १६ गते शनिबार हुने छ । फाइनल खेलको पूर्वसन्ध्यामा शुक्रबार महिला दौड प्रतियोगिता आयोजना गरिएको आयोजक अल इन वान क्लबका अध्यक्ष कृष्णबाबु योञ्जनले जानकारी दिए ।



