झापा, बैशाख १५ । नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई कालो झण्डा देखाएको र आक्रमण गर्ने प्रयास भएको भन्दै एमाले सांसदहरुले विरोध जनाएका छन् ।

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा सभामुख देवराज घिमिरेले संसद्को कारबाही अघि बढाउन नपाउँदै एमाले सांसदहरुले उठेर विरोध जनाएका थिए ।

एमाले सांसद पदम गिरीले पार्टी अध्यक्ष ओलीविरुद्ध अवाञ्छित गतिविधि र आक्रमणको प्रयास भएको भन्दै विरोध जनाए । ‘झापामा पार्टी कार्यकर्ता भेलामा जानेक्रममा केही अवाञ्छित गतिविधि भएका छन् । पार्टी अध्यक्षलाई लक्षित गरेर ढुंगामुढा गर्ने प्रयास भएको छ । प्रहरी निरीक्षककै टाउको फुटाइएको छ । प्रहरीले त्यस्तो गतिविधि गर्ने केहीलाई नियन्त्रणमा त लिएको छ,’ उनले भने, ‘तर सत्ताकै दबाबमा त्यस्तो अवाञ्छित गतिविधि गर्नेहरुलाई छोड्ने काम भइरहेको सुनिएको छ । हामी यस्तो कार्यको घोर निन्दा र भर्त्सना गर्दछौँ ।’ कोशी प्रदेशका विभिन्न जिल्लामा पुगिरहेका एमाले अध्यक्ष ओलीलाई बिहीबार झापामा प्रदेशको नामकरणका सम्बन्धमा असन्तुष्ट रहेका पहिचानवादीहरूले कालोझण्डा देखाएर प्रदर्शन गरेका थिए । त्यसक्रममा प्रहरी र पहिचानवादीहरुबीच झडप समेत भएको थियो ।

बिहीबारै इलाम पुगेका ओलीलाई त्यहाँ पनि पहिचानवादीहरुले कालो झण्डा देखाएका थिए । अध्यक्ष ओली शुक्रबार जन्मथलो तेह्रथुमको आठराई पुगेका छन् । त्यहाँ पनि अध्यक्ष ओलीविरुद्ध पहिचानवादीहरूले कालोझण्डा लिएर प्रदर्शन गरेका छन् ।

प्रदेशसभाबाट बहुमतले प्रदेशको नाम कोशी प्रदेश राखे पनि पहिचानका आधारमा नाम राख्नुपर्ने भन्दै पहिचानवादीहरूले निरन्तर आन्दोलन गरिरहेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्