झापा, बैशाख १५ । आफूलाई ढुंगा हान्नेहरू प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपालको पार्टीको भएको दाबी गरेका एमाले अध्यक्ष केपी शर्मा ओलीलाई यस प्रकारका अनर्गल हल्ला नचलाउन एकीकृत समाजवादी पार्टीले चेतावनी दिएको छ ।

एकीकृत समाजवादी झापाका संयोजक बेदराज रेग्मीले आज प्रेस विज्ञप्ति जारी गरी यस प्रकारका अनर्गल हल्ला नचलाउन र भ्रम नछर्न आग्रह गर्दै त्यस्ता कुराबाट सचेत रहन सबैमा अनुरोध गरेका छन् । अहिले कोशी प्रदेशको नामकरणको विषयलाई लिएर पूर्वमा पहिचानको मुद्दामा आवाज उठाइरहेको समयमा घुम्न निस्केका ओलीले आफूलाई आक्रमण गर्न खोजिएको र त्यसमा माधब नेपालका कार्यकर्ताको संलग्नता रहेको भन्ने भनाई आपत्तिजनक रहेको रेग्मीले बताएका छन् ।

‘ पहिचानधर आन्दोलनरत पक्षले उठाएको आवाज र मागलाई उचित सम्बोधन गर्नुको साटो अनर्गल प्रचारबाजी गर्नु त्यो तहको नेतालाई यस्तो कुरा गर्नु पटक्कै सुहाउने कुरा होइन ’ उनले भनेका छन्,‘हाम्रो पार्टी पहिचानको मुद्दा र अधिकारको विषयमा प्रष्ट छ । कुनै समस्या देखा पर्दा समाधानको उपाय खोज्नुको साटो पहिचानको विषयलाई विषयान्तर गर्ने अरुलाई दोष थोपर्ने कदमबाहेक यो केही होइन ।’ उनले पहिचानको माग गर्नेलाई आतंककारीको सज्ञा दिनु राष्ट्रबिरोधीको लेप लगाउने ओलीको गलत सोचको अभिव्यक्ति भएको टिप्पणी गरेका छन् ।

ओलीले आफूलाई ढुंगा हान्नेहरू प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपालको पार्टीको रहेको दाबी गरेका थिए । झापामा आयोजित कार्यक्रममा उनले ड्युटीमा रहेका प्रहरीको टाउको फुटाउनेलाई आतंककारीको संज्ञा दिएका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्