झापा, बैशाख १७ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको कार्यक्रममा प्रहरीमाथि ढुंगा प्रहार गर्दा पक्राउ परेका तीन आन्दोलनकारीहरु रिहा भएका छन् ।

उनीहरुलाई जिल्ला प्रशासन कार्यालय झापाले धरौटीमा आइतवार रिहा गरेको हो । प्रहरीले घटनामा संलग्न मित्र लिङ्देन, पुरन राई (बुलेट किराती) र बलिहाङ मावोलाई पक्राउ गरेको थियो । उनीहरुमाथि अभद्र व्यवहारसम्बन्धी मुद्धा दायर गरिएको थियो ।जनही पाँच–पाँच हजार रुपैयाँ धरौटी तिरेर उनीहरुलाई रिहा गराइएको आदिवासी जनजाति महासंघ झापाका अध्यक्ष पाण्डवलाल चौधरीले बताए ।
गत बुधवार बुद्धशान्ति गाउँपालिकामा आयोजित एमाले अध्यक्ष ओलीको कार्यक्रममा कोशी प्रदेश नामकरणको विरुद्धमा आन्दोलित पहिचानवादीहरुले आक्रमण गर्ने प्रयास गरेका थिए । एमाले अध्यक्ष ओली बुद्धशान्ति गाउँपालिकामा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा सहभागी हुन जाँदै गर्दा कार्यक्रमस्थल नजिकै पहिचानवादीहरूले उनलाई कालोझन्डा देखाउँदै चर्का नाराबाजी गरेका थिए। उनीहरूले ओली सवार गाडीसमेत सडकमै रोक्न खोजेका थिए। एमाले अध्यक्ष ओलीलाई आक्रमण गर्न खोज्ने पहिचानवादीहरुले हानेको ढुंगा लागेर इलाका प्रहरी कार्यालय धुलावारीका प्रहरी निरीक्षक अनिल मावोहाङसहित दुई प्रहरी घाइते भएका थिए ।