झापा , बैशाख १८ । चिकित्सकहरुको परामर्श शुल्क बढ्ने भएको छ ।

नेपाल चिकित्सक संघ तथा निजी अस्पतालहरुको संगठन एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन नेपाल (अफिन) ले चिकित्सकहरुको परामर्श शुल्क १४ प्रतिशतसम्म बढाउने निणर्य गरेको छ । जेठ १ देखि लागू हुने गरी यो शुल्क बढाइएको चिकित्सक संघले जनाएको छ । अनुभव तथा योग्यताका आधारमा तोकिएको नयाँ परामर्श शुल्क न्यूनतम ४२० रुपैयाँदेखि बढीमा ९४० रुपैयाँसम्म कायम गरिएको छ । अब एमबीबीएस तथा बीडीएस गरी ५ वर्षसम्म अनुभव भएकाहरुले ४२० र त्यसभन्दा बढी अनुभव भएकाहरुले ५१५ रुपैयाँ लिन पाउनेछन् । यस्तै, एमडी एमएसको योग्यता भई पाँच वर्षसम्म अनुभव भएकाहरुले ७५० र त्यसभन्दा बढी अनुभव भएकाहरुले आठ सय रुपैयाँ लिनेछन् । डीएम एमसीएच गरी पाँच वर्षसम्म अनुभव भएकाहरुले ८८० र त्यसभन्दा बढी अनुभव भएकाहरुले ९४० रुपैयाँ परामर्श शुल्क लिन पाउने नेपाल चिकित्सक संघका अध्यक्ष डाक्टर अनिल कार्कीले जानकारी दिए । नेपाल राष्ट्र बैंकको मुद्रास्फीतिका आधारमा प्रत्येक २-२ वर्षमा शुल्क पुनरवलोकन गर्ने अधिकार २०७८ भदौ ३० मा नै दिइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । बढेको शुल्क निजी स्वास्थ्य संस्थाहरुमा लागू हुनेछ । तर, गरिब, असहायलगायत १० प्रतिशत बिरामीलाई निःशुल्क उपचार गर्नुपर्ने नियम भने निजी अस्पतालहरुले पालना नगरेको मन्त्रालयको भनाइ छ । यसअघि २०७७ मा चिकित्सकहरुको परामर्श शुल्क पुनरावलोकन गरिएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्