झापा, बैशाख १८ । यस वर्षको महानन्द पुरस्कार झापा कन्काईका कोमलप्रसाद पोखरेल र इलाम चुलाचुलीका सुन्दर कुरुपलाई प्रदान गरिने भएको छ ।

यही बैशाख ३० गते इलामको रोङ गाउँपालिकामा रहेको देवानछापमा आयोजना गरिने कार्यक्रममा सो पुरस्कार प्रदान गरिने भएको हो । त्यस्तै भवानी घिमिरे– रंग पुण्य स्मृति साहित्य सेवा पुरस्कार इलामका विमल वैद्य र हिरा आकाश– पूर्ण टुंग स्मृति साहित्य सेवा पुरस्कार पाँचथर फिदिमका प्रेम ओझालाई प्रदान गरिने महानन्द पुरस्कार समितिले आज बिर्तामोडमा पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।

चारवटै पुरस्कारको नगद राशि १५–१५ हजार रुपैयाँ रहेको छ । यस वर्ष १५ औं महानन्द पुरस्कार प्रदान गर्न लागिएको हो ।त्यस्तै भवानी घिमिरे– रंग पुण्य स्मृति साहित्य सेवा पुरस्कार दोस्रो पटक र हिरा आकाश– पूर्ण टुंग स्मृति साहित्य सेवा पुरस्कार पहिलो पटक प्रदान गर्न लागिएको महानन्द पुरस्कार समितिका अध्यक्ष केशव आचार्यले बताए । उनले जनस्तरमा धेरैजनाको सहभागिता जुटाउन इलामको देवानछापमा कार्यक्रम आयोजना गरिएको जानकारी दिए । त्यस्तै महानन्द पुरस्कार समितिका महासचिव चन्द्र भण्डारीले कार्यक्रमको तयारीका बारेमा बताउँदै कार्यक्रममा व्यापक सहभागिता जुटाउने जानकारी दिए । उनले १ हजारबाट स्थापना गरिएको सो पुरस्कारको राशि अहिले १५ हजार पुर्याइएको बताए ।

महानन्द पुरस्कार समितिले साविक मेची अञ्चलका स्रष्टाहरुलाई पुरस्कृत गर्दै आएको छ । स्व. महानन्द सापकोटाको दिवसको अवसरमा रोङ गाउँपालिकाले स्थानीय विदा दिने गरेको छ भने विद्यार्थीहरुलाई छात्रबृति वितरण पनि गर्ने गरेको छ । गीतकार दिनेश अधिकारी प्रमुख अतिथि रहने कार्यक्रममा विभिन्न स्रष्टाहरुले रचना वाचन गर्ने जनाइएको छ ।कार्यक्रममा महानन्द स्मृति प्रतिष्ठानका बृहष्पति खतिवडा , सोमनाथ पौडेलको पनि उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्