झापा, बैशाख १९ । नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका उडाउने भन्दै करोडौं रुपैयाँ असुलउपर गर्दै आएको गिरोहका मुख्य योजनाकारका रुपमा तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजीत राईलाई प्रहरीले मंगलबार बिहान पक्राउ गरेको छ ।

नक्कली शरणार्थी बनाएर पैसा असुल्ने गिरोहका नाइकेहरू केशव दुलाल, सानु भण्डारी, सागर थुलुङ राई, टंक गुरुङ र सन्देश शर्मा पोखरेल पक्राउ परेपछि तिनले दिएको बयानका आधारमा राईलाई टेकुस्थित निवासबाटै पक्राउ गरिएको प्रहरी स्रोतले जनाएको छ ।

२०७४ फागुनदेखि २०७८ असारसम्म गृहमन्त्री रहेका बादलका सुरक्षा सल्लाहकार राईले भुटानी शरणार्थी समस्या समाधानमा स्थायी तवरको उपाय पहिल्याइने भन्दै गृह मन्त्रालयबाट नीतिगत असंगत निर्णयहरू गराएको र नक्कली शरणार्थी बन्न जनही बढीमा ५० लाखसम्म पैसा असुल्न मार्गप्रशस्त गरिदिएको बयानमा खुलेको छ । प्रहरी परिसर टेकुमा राखिएका राईले समेत विभिन्न चरणमा गरेर डेढ करोड रुपैयाँभन्दा बढी आफूबाट लिएको भनेर पक्राउ परेका गिरोहका सदस्यले बयानमा जनाएका छन् ।

यो गिरोहलाई आफूले समेत मन्त्रालय तहमा विभिन्न कठिनाइ आइपर्दा सहयोग गरेको र गिरोहका नाइके दुलाल, भण्डारीसँग आफ्नो पुरानो चिनजान रहेको भन्दै तत्कालीन ऊर्जामन्त्री टोपबहादुर रायमाझीले स्विकारिसकेका छन् । पक्राउ परेकामध्ये दुलाल तत्कालीन परराष्ट्रमन्त्री सुजाता कोइरालाका निजी सहायक थिए भने भण्डारी ऊर्जामन्त्री रायमाझीकै सहयोगी थिए ।
बयानमा तत्कालीन गृहमन्त्री बादलका छोरा प्रतिक र इन्द्रजीतका छोरा निरजको नामसमेत रकम संकलनका मध्यस्थकर्ताका रुपमा आइसकेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्