एजेन्सी । पोर्चुगलको तोरेस भेद्रासस्थित समुद्री किनारबाट एक नेपाली युवा बेपत्ता भएका छन् ।

समुद्रको छालमा परी अर्घाखाँची जिल्ला भूमिकास्थान नगरपालिका-६, खिल्जीका २५ वर्षीय भुपाल दमासे बेपत्ता भएका हुन् । गएको बुधबार दिउँसो तोरेस भेद्रासस्थित सान्तारिता समुद्री किनारबाट दमासे एक्कासि बेपत्ता भएको सँगै गएका उनका साथी कुशल सुवेदीले जानकारी दिए । “हामी तीनजना समुद्री किनारमा बस्ने भनेर गएका थियौँ । मैले र अर्को एकजना साथीले बस्ने ठाउँ मिलाउँदै थियौँ । एक्कासि एकजना पोर्चुगिज नागरिकले तिमीहरुको साथी समुद्रको छालमा पर्‍यो भन्दै चिच्याए”, घटना सुनाउँदै सुवेदीले भने, “हामीले समुद्रमा हेर्दा भुपाललाई कतै देखेनौँ, किनारमा उसको चप्पल मात्रै देख्यौँ । त्यसपछि उद्धारका लागि तत्काल प्रहरीलाई खबर गर्‍यौँ ।” उनी समुद्रमा बेपत्ता भएको विषयमा उनका परिवारलाई जानकारी गराइएको दमासेका आफन्त पर्बता पन्थले बताइन् । उनको खोजबिन गर्न र घटनाको सत्यतथ्य पत्ता लगाउन लिस्बनस्थित रहेको अवैतनिक नेपाली महावाणिज्य दूतावास र गैरआवासीय नेपाली सङ्घ पोर्चुगललाई आग्रह गरिएको पन्थले बताइन् । बेपत्ता भएका दमासेको समुद्रमा खोजी भइरहेको र हालसम्म नभेटिएको स्थानीय प्रहरीलाई उद्धृत गर्दै गैरआवासीय नेपाली सङ्घ पोर्चुगलका अध्यक्ष रबिन अधिकारीले जानकारी दिए । दमासे वैदेशिक रोजगारीको सिलसिलामा तीन वर्षअगाडि पोर्चुगल गएका थिए । उनी तोरेस भेद्रासस्थित एक कृषि कम्पनीमा कार्यरत थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्