झापा, बैशाख २१ । नक्कली भुटानी शरणार्थी बनाएर नेपालीलाई अमेरिका पठाउने गरेको आरोपमा मुछिएका पूर्वमन्त्री टोपबहादुर रायमाझी भैरहवाबाट पक्राउ परेका छन् ।


प्रहरी स्रोतका अनुसार नेकपा एमालेका केन्द्रीय सचिव रहेका रायमाझी बिहीबार विहान भैरहवाबाट पक्राउ परेका हुन् ।
उनलाई काठमाडौँ ल्याउने तयारी भएको छ । रायमाझी पक्राउ परेकोबारे प्रहरीले भने औपचारिक रूपमा सार्वजनिक गरेको छैन ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता श्यामु अर्यालले रायमाझी पक्राउ परेकोबारे जानकारी नभएको बताए । सोही प्रकरणमा रायमाझीका छोरा सन्दीप रायमाझी बुधबार साँझ बुटवलबाट पक्राउ परेका थिए । रायमाझी बाबुछोरालाई पक्राउ गर्न बुधबार नै पक्राउ पुर्जी जारी भएको थियो ।
प्रहरी स्रोतका अनुसार काठमाडौँबाट गएको प्रहरीको विशेष टोलीको समन्वयमा रायमाझीका बाबुछोरालाई पक्राउ गरिएको हो । छोरा पक्राउ परेपछि बुधबार साँझबाट रायमाझीले मोवाइल अफ गरेर बसेका थिए ।
नेपालीहरूलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहले टोपबहादुरका छोरा सन्दीपको नाममा डेढ करोडको चेक काटेको प्रमाण फेला परिसकेको छ । घटनामा मुछिएका तत्कालीन गृहमन्त्री रामबहादुर थापा ‘बादल’ का छोरा प्रतिक थापालाई प्रहरीले खोजी गरिरहेको छ । प्रहरीले यो प्रकरणमा उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे र बादलका तत्कालीन सुरक्षा सल्लाहकार इन्द्रजीत राईलाई पक्राउ गरिसकेको छ । यो प्रकरणमा अहिलेसम्म ८ जना पक्राउ परिसकेका छन् ।

यसैबीच नेकपा एमालेले नक्कली शरणार्थी प्रकरणमा मुछिएका पार्टी सचिव रायमाझीमाथिको अनुसन्धानमा सघाउने प्रतिबद्धता जनाएको छ । एमाले उपमहासचिव प्रदीप ज्ञवालीले कानुनको कार्यान्वयन गर्न र दोषीलाई कानुनको कठघरामा ल्याउन पार्टीले सहयोग गर्ने नीति रहेको बताए ।
‘हामी छानबिनमा सघाउँछौ,घटनाको गहिराइमा पुग्नुपर्छ भन्ने नै एमालेको प्रारम्भिक धारणा हो’, उपमहासचिव ज्ञवालीले भने, ‘दोषीहरू जोसुकै भए पनि कारबाहीको दायरामा आउनुपर्छ ।’

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्