झापा, बैशाख २२ । संखुवासभाको भोटखोला-४ मा सिम्रिक एयरको हेलिकप्टर दुर्घटना भएको छ ।

केही बेरअघि हेलिकप्टर दुर्घटना भएको भोटखोला गाउँपालिकाका अध्यक्ष वाङछेदर लामाले बताए । हटिया गोलाको छोङग्राङबाट माथिल्लो अरुण जलविद्युत् आयोजनाको सामग्री बोकेर उडेको हेलिकप्टर सिप्ररुङको हम्मरेडाँडामा रुखमा ठोक्किएर दुर्घटना भएको हो । संखुवासभा विमानस्थल प्रमुख भानु कोइरालाका अनुसार, शुक्रबार दिउँसो १ बजेतिर हेलिकप्टर दुर्घटनामा परेको हो । प्रमुख कोइरालाले दुर्घटनामा मानवीय क्षति नभएको बताए । उद्धारका लागि केही बेरअघि सैनिक खाँदबारीबाट हेलिकप्टर पठाइएको उनले जानकारी दिए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार, लुक्लामा रहेको सिम्रिक एयरको अर्को हेलिकप्टर पनि उद्धारका लागि घटनास्थलतर्फ गएको छ । प्रवक्ता सिटौलाले हेलिकप्टरका पाइलट सुरेन्द्र पौडेलको टाउकोमा चोट लागेको र उनी बोल्न सक्ने अवस्थामा रहेको जानकारी आएको बताए । यो हेलिकप्टरले विद्युत्का सामग्री झुन्डयाएर सिलिङ अपरेसन गर्दै आइरहेको थियो ।

संखुवासभा विमानस्थल प्रमुख कोइरालाका अनुसार, दुर्घटनास्थल खाँदबारी विमानस्थलबाट २० मिनेटको हवाई दूरीमा पर्छ । सिम्रिकको हेलिकप्टर बिहीबार काठमाडौंबाट खाँदबारी प्रहरी कार्यालयमा अवतरण भई उत्तरी गोलातर्फ हिजै बेलुकी गएको थियो । त्यहाँ शुक्रबार बिहानदेखि विद्युत्का सामान ओसार्न सटल उडान गर्दै आइरहेको थियो । उक्त क्षेत्र संखुवासभा विमानस्थलको टावरको भीएचएफबाट सम्पर्क नहुनेमा पर्छ । घटना भएको एक घन्टा बितिसक्दा पनि एकिन विवरण संखुवासभा विमानस्थलमा आइनसकेको उनले बताए । दुर्घटनाको थप विवरण आउन बाँकी छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्