झापा, बैशाख २५ । प्रतिनिधिसभाको जारी बैठकमा स्वतन्त्र सांसद अमरेशकुमार सिंहले कपडा खोलेर विरोध जनाएका छन् ।

सोमबार सिंहले संसद् सञ्चालन सुरु भएलगत्तै बोल्न खोजेका थिए । तर, सभामुख देवराज घिमिरेले रोकेपछि सिंहले कपडा खोलेर विरोध जनाए । उनको व्यवहारबाट रुष्ट बनेका सभामुखले सिंहलाई त्यसो नगर्न चेतावनी दिए । ‘माननीय अमरेशकुमार सिंह, कृपया प्रतिनिधिसभाको सम्मान गर्नुस् । अन्यथा नियमावलीअनुसार कारबाही गर्छु’, सभामुखले चेतावनी भाषामा भने । त्यसपछि सिंहले धमाधम कपडा लगाएर बैठकस्थलबाट बाहिरिए ।

सिंहमाथि कस्तो कारबाही हुन्छ ?
प्रतिनिधिसभा नियमावली २०७९ को परिच्छेद ६ को नियम ३० मा बैठकमा अभद्र व्यवहार गर्ने सदस्यलाई आफ्नो व्यवहार नियन्त्रण गर्न सभामुखले चेतावनी दिन सक्नेछ र चेतावनी पाएपछि त्यस्तो सदस्यले आफ्नो व्यवहारमाथि तुरुन्त नियन्त्रण गर्नुपर्ने व्यवस्था छ । त्यस्तै, नियम ३१ को उपनियम (१) मा नियम ३० बमोजिमको आदेश पालन नगर्ने सदस्यलाई सभामुखले बैठक कक्षबाट बाहिर जान आदेश दिन सक्ने व्यवस्था छ । सभामुखको त्यस्तो आदेश पाएपछि अभद्र व्यवहार गर्ने सदस्य बैठक कक्षबाट तुरुन्त बाहिर जानुपर्ने र निजले सो दिनको बाँकी अवधिको बैठकमा उपस्थित हुन पाउने छैन । उपनियम (२) मा उपनियम (१) बमोजिमको आदेश पाएपछि पनि त्यस्तो सदस्य बैठक कक्षबाट तुरुन्त बाहिर नगएमा सभामुखले निजलाई मर्यादापालकको सहयोग लिई बाहिर निकाल्न सक्ने व्यवस्था छ । साथै बैठकबाट निष्कासित सदस्यले त्यसपछिको तीन दिनसम्म सभा वा कुनै समितिको बैठकमा भाग लिन पाउने छैन । उपनियम (३) मा भनिएको छ , ‘उपनियम (२) बमोजिम बैठकबाट निष्कासित सदस्यले त्यसपछिको तीन दिनसम्म सभा वा कुनै समितिको बैठकमा भाग लिन पाउने छैन । यसरी निकालिएकोमा सचिवले सोको सूचना सम्बन्धित समिति तथा संसदीय दललाई दिनेछ । ’

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्