झापा , बैशाख २५ । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला प्रायः पौने १० बजे निवासबाट कार्यालयका लागि निस्कन्छन् ।

घरबाट उत्तरपट्टि कोइरालानिवासको पछाडिबाट महानगर कार्यालय जाने उनको दैनिकी हो । अरू दिनजस्तै सोमबार पनि आफैँ गाडी चलाएर उनी गोल्छामोड हुँदै कार्यालयतर्फ जान घरबाट निस्कँदै थिए । सडकभरि असरल्ल फोहोर थुप्रिएको देखे र गाडी रोके । उत्रिएर यताउता हेरे । कार्यालय आउजाउ गर्ने केही मोटरसाइकलबाहेक अरू सवारीसाधन थिएनन् । कसैले भर्खरै सडकमै फोहोर फ्याँकेजस्तो देखिएन । निष्कर्ष निकाले-पक्कै फोहोर उठाउने गाडीले नै झार्दै दौडियो । उनले तत्कालै फोहोर बिर्सजनमा खटिएको कम्पनीका प्रतिनिधिलाई फोन गरे । अनि, त्यो रुटमा फोहोर उठाउने गाडीका बारेमा सोधे । “फोहोर उठाउने गाडीले नै सडकभरि फोहोर झारेर हिँडेजस्तो देखिन्छ, तुरुन्त फेरि उठाउन पठाउनूस्,” कोइरालाले निर्देशन दिए । केही बेर त्यहीँ अडिएर फोहोर बोक्ने गाडीको प्रतीक्षा गरे । मेयरको निर्देशन आएपछि तत्कालै फोहोर उठाउने कर्मचारी र ट्याक्टर आइपुगे । “यो के गरेको ? फोहोर बोक्ने गाडीको डाला त्रिपालले छोप्नु पर्दैन ?,” उनले सोधे ।

सफाइका कर्मचारीले कमजोरी भएको र अबदेखि नदोहोर्‍याउने प्रतिबद्धता जनाए । त्यसपछि मेयरले सडकमा असरल्ल छरिएको फोहोर उठाउन निर्देशन दिए । सफाइ कर्मचारीले सडकमा छरिएको फोहोर उठाएर ट्याक्टरमा लोड गरे । अनि, त्यहाँबाट अन्यत्र उठाउन हिँडे । महानगरका अनुसार केही समययता सफा विराटनगरको कार्यनीति कार्यान्वयन गर्न विभिन्न कार्य गरिँदै छ । नियमित कार्यअन्तर्गत नाला सफाइको काम सबै वडामा चलिरहेको छ । मेयर आफैँले सफाइ सप्ताह सञ्चालन गरेर महानगरको अभियानमा सहयोग गर्न महानगरवासीलाई अपिल गरिरहेका छन् । “हामी आफैँ पनि साप्ताहिक अभियानमा जोडिएर झाडु बोकेर खटिएका छौँ । महानगरवासीले कम्तीमा आफ्नो घरअगाडिको सडकमा फोहोर गरिदिनु भएन् । आफैँ पनि सरसफाइ गरिदिनुपर्‍यो, नत्र जम्मा गरेको फोहोर महानगरले परिचालन गरेको सवारीसम्म पुर्‍याइदिनुपर्‍यो । यसरी नै फोहोर सडकमा देखिए महानगरलाई खबर गर्नुपर्‍यो,” उनले भने ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्