कुमरखोद, बैशाख २५ । झापा गाउँपालिकाका २३८ विपन्न परिवारले बस्नको लागि घर पाएका छन् ।

झापा गाउँपालिकाले विपन्न परिवारका लागि निर्माण गरेको घर सोमवार हस्तान्तरण गरेको हो । रेडक्रस भवनमा एक कार्यक्रम गरी विपन्न परिवारलाई बस्नको लागि बनेको घरको चावी उपभोक्ता समितिका अध्यक्षहरुलाई हस्तान्तरण गरिएको हो ।

पालिकाले ७ वटै वडामा १२ वटा उपभोक्ता समितिमार्फत २३८ वटा घर निर्माण गरेको हो । ती घर झापा गाउँपालिका , ह्याविटेट फर ह्युमानिटी नेपाल र सहारा नेपाल बिर्तामोडको त्रिपक्षीय साझेदारीमा निर्माण भएको हो । विपन्न परिवारहरुको घर निर्माणका लागि प्रतिघर झापा गापाको १ लाख १५ हजार , ह्याविटेट फर ह्युमानिटी नेपालको ८२ हजार आर्थिक लगानी र सम्पूर्ण प्राविधिक सहयोग सहारा नेपाल साकोसको रहेको झापा गाउँपालिका अध्यक्ष जयनारायण शाहले बताए । अध्यक्ष शाहले झापा गाउँपालिकाभित्र रहेका विपन्न परिवारहरुको सम्पूर्ण फुसको घरहरु हटाएर टिनको छाना लगाउने अभियान नै चलाएर १ हजार परिवारलाई घर बनाईदिएको बताए । उनले आर्थिक वर्ष २०८०–८१ मा फेरि सय परिवारका लागि घर बनाइदिने जानकारी दिए ।

झापा गाउँपालिका अध्यक्ष शाहको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि ह्याविट फर ह्युमानिटी नेपालका प्रमुख एलिना इस्थापीट रहेकी थिईन् । कार्यक्रममा सहारा नेपालका उपाध्यक्ष सोमनाथ तिम्सिना , राष्ट्रिय भूमि आयोग झापाका अध्यक्ष तिलकसिंह पाण्डे , सहारा नेपाल सकोसका प्रमुख कार्यकारी निर्देशक महेन्द्रकुमार गिरी, झापा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत गजेन्द्र थपलिया , वडा अध्यक्ष राजकुमार यादवलगायतले बोलेका थिए । कार्यक्रममा सातै वडाका अध्यक्षहरु , प्रोग्राम मेनेजर मातृका सुवेदी , प्रोग्राम कोअर्डिनेटर नविन लामिछाने , सामाजिक परिचालक अफिसर एकराज पोख्रेल , प्रमिला गिरी , जनप्रतिनिधिहरु राजकुमार कोच , मोहनकुमार राजवंशी , सहारा नेपालका प्राविधिकहरु दिपक तिम्सिना , प्रदिप तामाङ, झलेन्द्र मगर , आकाश लावतीलगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन पूर्णचन्द्र मैनालीले गरेका थिए भने स्वागत मन्तव्य गाउँपालिका उपाध्यक्ष अन्जुदेवी थपलियाले गरेकी थिईन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्