झापा, बैशाख २६ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद निशा डाँगीले लोकसेवा आयोगमा दरखास्त दिएका झन्डै चार लाख आवेदकको तथ्याङ्क हराएकोमा आपत्ति जनाएकी छन् ।

मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद डाँगीले हराएको डाटा रिकभर नगरी लाजमर्दो तरिकाले आयोगले पुनः दरखास्त आह्वान गरेकोमा आपत्ति जनाएकी हुन् । ‘२१ औ शताब्दीमा विश्वमा प्रविधिले यस्तो फड्को मारिरहँदा हाम्रो सरकारले चार लाख आवेदकको डाटा सुरक्षित राख्न सकिरहेको छैन । सभामुख महोदय, किन हाम्रो सरकारसँग ब्याकअप सिस्टम छैन ?,’ उनले भनिन्, ‘लोकसेवा आयोग जस्तो जिम्मेवार निकायले डाटा सुरक्षित नराख्नु, आफू सँग भएको डाटा ब्याकअप पनि नहुनु ? अन्तिममा आएर पुनः फारम भर्न लगाउने, कति सम्म को लापरबाही हो यो ?’ सांसद डाँगीले नेपालका अधिकांश युवाहरू विदेशिएको र खाडीमा रगत पसिना बगाउन बाध्य रहेको उल्लेख गर्दै केहिले स्वदेशमै भविष्य खोजिरहेकाहरूलाई प्रोत्साहन गर्नुको सट्टा सरकारले उल्टै निरूत्साहन गरिरहेको आरोप लगाएकी छन् ।‘यसरी युवाहरूको भविष्य सँग खेलबाड नगर्न र डाटा रिकभर हुदैन भने जिम्मेवार निकायमा बसेकालाई कारबाही गर्न सभामुख मार्फत सम्बन्धित निकायको ध्यानाकर्षण गर्न चाहन्छु र साथै पटक पटक परीक्षा तोकिने र सरिरहने समस्या अन्त्य गर्न पनि सरकारको ध्यानाकर्षण गराउँदछु,’ उनले भनिन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्