झापा , बैशाख २७ । नेपाली काँग्रेसका नेता डाक्टर शेखर कोइरालाले नक्कली भुटानी शरणार्थी प्रकरणमा जोडिएका जो कोही कारबाहीको दायरामा आउने बताएका छन् ।

विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले नक्कली शरणार्थीको विषय राष्ट्रियस्तरमा मात्रै नभएर अन्तर्राष्ट्रिय हिसावले पनि जोडिएको भएको कारण अनुसन्धान प्रभावित पार्ने कुनै सम्भावना नरहेको दाबी पनि गरे ।

‘यो त नक्कली शरणार्थीको इस्यु देशको लागि पनि लज्जास्पद कुरा हो । प्रहरी प्रशासनले अनुसन्धान गरिरहेको छ । त्यो रोकिन्छ जस्तो मलाई लाग्दैन । किनभने यो राजनीतिक वृत्तमा राष्ट्रिय रुपमा आइसक्यो र यो अन्तर्राष्ट्रिय स्तरमा पनि गइसकेको छ । शरणार्थीलाई अमेरिका पठाउने भनिसकेपछि उनीहरु पनि सशंकित हुन्छन् नि यो के भइरहेको छ नेपालमा भनेर । त्यसकारण यो रोकिन्छ भन्ने मलाई चाहिँ विश्वास लाग्दैन ।’

आजसम्म प्रहरीले अनुसन्धान गरिरहेको छ भने गरेको भन्नु पर्ने उनले बताए । ‘जो–जो दोषी हो उनीहरु त कारबाहीमा पर्नुपर्छ । गलत काम भएको छ । उनीहरुले कारबाहीको भागिदार बन्नुपर्छ,’ उनले भने, ‘तीन जना नेताले छलफल गरे, दुई जना नेताले बसेर छलफल गरेको विषयमा आएका समाचार हामीले पनि पढेका छौं । उहाँहरुले जे सुकै कुरा गरेपनि यो नक्कली शरणार्थीको विषय अन्तर्राष्ट्रियकरण भइसकेको छ । त्यसकारण त्यति सजिलो गरि प्रहरी प्रशासन पनि ब्याक हुन सक्दैन ।’

अर्को प्रसंगमा नेता कोइरालाले महामन्त्री गगन थापाले असन्तुष्टि पोखेको विषय सभापतिप्रति लक्षित हुनसक्ने बताए । अहिले मन्त्री बनेकाहरु काँग्रेसबाटै बनेको भन्दै यसमा सबैसँग सल्लाह गरेरै भएको कोइरालाले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्