झापा, बैशाख २७ । सगरमाथाका विभिन्न स्थानमा जडान गरिएका स्वचालित मौसम-मापन यन्त्रले सगरमाथाको उच्च भागको हिउँ तथा बरफ नपग्लीकन सिधै वाष्पीकरण (उध्र्वपातन) हुने गरेको र यसले तीव्र रूपमा हिउँको तहमा ह्रास आउनसक्ने देखाएका छन् ।

विश्वकै सबैभन्दा अग्लो सगरमाथामा तीव्र गतिमा प्रवाह हुने चिसो हावा र न्यून आद्र्रताले नयाँ हिउँ नपरेको अवस्थामा हिउँदयाममा यसको उचाइ ९० सेन्टिमिटरसम्मले घट्नसक्ने एक अध्ययनको प्रारम्भिक प्रतिवेदनले देखाएको हो । यो प्रक्रिया लामो समयसम्म जारी रहे सगरमाथाको उचाइमासमेत परिवर्तन हुन सक्ने देखिएको छ । सगरमाथाको ८ हजार ४३० मिटर उचाइमा रहेको बाल्कोनी, ७ हजार ९४५ मिटर उचाइमा रहेको साउथ कोललगायत अन्य स्थानमा स्थापना गरिएका मौसम-मापन यन्त्रबाट प्राप्त हिउँदयामका तथ्यांकको पहिलोपटक गरिएको समीक्षात्मक अध्ययनले यस्तो नतिजा देखाएको हो । मौसम र जलवायुको क्षेत्रमा काम गर्दै आएको बेलायतको रोयल मेटेरोलोजिकल सोसाइटीद्वारा प्रकाशित वैज्ञानिक जर्नल ‘वेदर’मा नेपाली वैज्ञानिक तेन्जिङ छोग्याल शेर्पाले नेतृत्व गरेको शोधकर्ताहरूको समूहले तयार पारेको प्रतिवेदन प्रकाशित भएको छ । प्रतिवेदनअनुसार सगरमाथा शिखरमा हावाको घण्टागत सरदर चिसोपना सबैभन्दा बढी माइनस ८३ डिग्री सेल्सियस र सबैभन्दा कम माइनस ७७ डिग्री सेल्सियससम्म झर्ने देखिएको छ । अध्ययनले सगरमाथाको उच्च भूभागमा प्रवाह हुने तीव्र चिसो हावा र न्यून सापेक्षिक आद्र्रताका कारण हिउँद याममासमेत प्रतिदिन २.५ मिलिमिटर पानीबराबरको हिउँको तह उर्ध्वपातनमार्फत नष्ट हुने र यसले अन्ततः शिखरमा हिउँ थुप्रो कम हुँदै जाने देखाएको छ

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्