झापा , बैशाख २७ । नेपाली कथानक चलचित्र ‘परस्त्री’ भारतका सिनेमा हलमा रिलिज हुने भएको छ ।

भारतको पीभीआर सिनेमाज कम्पनीले हिन्दी भाषामा डबिङ गरिएको ‘परस्त्री’ थिएटर रिलिज गर्न लागेको हो । पीभीआरले पाँच सयवटा थिएटरमा ‘परस्त्री’ रिलिज गर्न लागेको निर्देशक सुरज पाण्डेले जानकारी दिए । “पीभीआरले पाँच सयवटा हलमा रिलिज गर्छु भनेको छ । तर , हामीले योभन्दा धेरै हलमा रिलिज गर्न भनेका छौँ,” सुरजले भने । सिनेमा भारतमा जुन ३० (असार १५ गते) रिलिज हुनेछ । ‘परस्त्री’को हिन्दी डबिङ भइसकेको छ । चलचित्रको डिष्टिब्युटर कट, ट्रेलर र पोष्टर हेरेर पीभीआरले सिनेमाको हल रिलिज गर्ने निणर्य गरेको हो । “हामीले सिनेमा बेच्ने योजना बनाएका छौँ । हामीले यो प्रस्ताव पनि गरेका हौँ,” सुरज भन्छन्, “तर, उनीहरूले सिनेमा हेरेपछि मात्रै किन्ने अथवा सेयरमा बस्ने निणर्य गर्दोरहेछ । केही दिनमा हामी पुनः मुम्बइ जाँदै छौँ । त्यसपछि उनीहरूले हेरेर यसबारे निणर्य हुनेछ ।” यदि, चलचित्र पीभीआरले किनेन भने ५०/५० प्रतिशत सेयरमा सिनेमा रिलिज हुने उनले जानकारी दिए ।

‘परस्त्री’ले हिन्दी भाषामा दुईवटा गीत रेकर्ड गर्नेछ । गायिकामा सोनल प्रधान फाइनल भइसकेकी छन् । मेल भोकलका लागि भने गायक फाइजल हुन बाँकी रहेको सुरजले जानकारी दिए । यसराज फिल्मस कम्पनीले यसको जिम्मा लिएको सुरज बताउँछन् । गत शुक्रबार ‘परस्त्री’को पोस्टर बलिउड ट्रेड एनलाइसिस्ट तरण आदर्शले सार्वजनिक गरेका थिए । सुरज पाण्डेले निर्देशन गरेको चलचित्रको पोस्टर तरणले ट्विटरमार्फत सार्वजनिक गरेका थिए । शर्मिला पाण्डेले निर्माण गरेको चलचित्रको कथा दीपेन्द्र के खनालले लेखेका छन् । चलचित्र नेपालमा पनि असार १५ गते रिलिज हुँदै छ । चलचित्रमा कोसिस क्षेत्री, शिल्पा मास्के, गौरव विष्ट, अलिसा क्षेत्री, आशान्त शर्मालगायत कलाकारको अभिनय छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्